
गुल्मी । गुल्मी क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य गोविन्द पन्थीले आफ्नो अभिव्यक्तिलाई सन्दर्भविहीन रूपमा प्रस्तुत गर्दै भ्रमपूर्ण व्याख्या गरिएको बताएका छन्।
आइतबार जारी गरिएको ध्यानाकर्षण विज्ञप्तिमार्फत सांसद पन्थीले महिला मञ्च गुल्मीले हालै सार्वजनिक गरेको प्रेस विज्ञप्तिप्रति गम्भीर आपत्ति जनाएका हुन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गुल्मीको प्रथम जिल्ला अधिवेशनका क्रममा व्यक्त गरेको भनाइ कुनै व्यक्ति, महिला जनप्रतिनिधि वा समूहलाई लक्षित गरेर नभई सार्वजनिक जीवनमा देखिएका अस्वस्थ प्रवृत्ति, आरोप–प्रत्यारोप तथा सामाजिक सञ्जालमा हुने गैरजिम्मेवार बहसप्रति केन्द्रित रहेको स्पष्ट पारेका छन्।

विज्ञप्तिमा निर्वाचित जनप्रतिनिधि कुनै दल वा व्यक्तिको मात्र नभई सम्पूर्ण जनताको साझा प्रतिनिधि हुने उल्लेख गर्दै कुनै राजनीतिक झुकावका आधारमा व्यक्तिगत विषयलाई राजनीतिक रंग दिनु उचित नहुने धारणा दोहोर्याइएको छ।
सांसद पन्थीले आफ्नो अभिव्यक्तिलाई महिला जनप्रतिनिधि वा महिलाविरुद्ध लक्षित गरिएको जस्तो प्रचार गर्नु तथ्यहीन, भ्रामक र पूर्वाग्रही व्याख्या भएको दाबी गरेका छन्। उनले आफ्नो राजनीतिक तथा सामाजिक जीवनमा महिला अधिकार, समानता, सम्मान र सहभागिताको पक्षमा निरन्तर अडान राख्दै आएको समेत उल्लेख गरेका छन्।
विज्ञप्तिमा विभिन्न घटनासम्बन्धी विषयहरू सम्बन्धित निकायको अनुसन्धान र कानुनी प्रक्रियासँग जोडिएका भएकाले अनुसन्धानलाई प्रभावित पार्ने गरी सार्वजनिक रूपमा एकपक्षीय निष्कर्ष प्रस्तुत गर्नु उचित नहुने धारणा व्यक्त गरिएको छ। आरोपित व्यक्तिहरू स्वयं अनुसन्धान प्रक्रियामा सहभागी रहेको अवस्थामा प्रशासन र अनुसन्धान अधिकारीमाथि दबाब सिर्जना गर्ने गतिविधिले विधि र पद्धतिलाई चुनौती दिन नहुने पनि उल्लेख गरिएको छ।
सांसद पन्थीले कुनै पनि प्रकारको हिंसा, दुर्व्यवहार वा महिलामाथि हुने अमानवीय व्यवहारको समर्थन नगरेको र भविष्यमा पनि त्यस्ता गतिविधिको विरोधमा दृढतापूर्वक उभिने प्रतिबद्धता व्यक्त गरेका छन्।
गुल्मी इस्मा गाउँ पालिकाको उपाध्यक्ष ले कार्यालय समय पश्चात् गाडी दुरुपयोग गरेको भन्दै खबरदारी गर्ने क्रममा चालक लाई रातको समयमा सोधखोज समेत गरेको भिडियो सार्बजनिक गरेको मा उपाध्यक्ष पार्बती कुवरले ५ जना स्थानीय लाई अफु बिरुद्द अभद्र ब्याबहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय गुल्मी मा जाहेरी दिएकोमा आरोपित हरुलाइ प्रहरीले नियन्त्रणमा लिएको मा अनुसन्धान को क्रममा हाजिरी जमानिमा छाडिएको मा उक्त अनुसन्धान प्रक्रिया मिलेन भन्दै थुनामै राख्नु पर्ने भन्दै नेपाली काङ्ग्रेस , एमाले, ने क पा र जनमोर्चामा आबद्द महिला मंचले बिरोध गर्दै दबाब सिर्जना गरेकोमा पुन पक्राउ गरिएको बताइन्छ।
उता स्थानीयले भने खबरदारी गर्ने आफ्नै जनता लाई थुनामा राख्ने जनप्रतिनिधि भन्दै सामाजिक संजालमा बिरोध जनाइ रहेको देखिन्छ।



