सुरक्षा सरोकार । झापाको दमकमा २१ वर्षीया युवती रमा तिवारी (रोमा) को हत्या प्रकरणमा प्रहरीले भारतीय नागरिकलाई पक्राउ गरेको छ। घटना भएको करिब १० दिनपछि प्रहरीले भारत अररिया घर भई दमकमा बस्दै आएका ३४ वर्षीय रमेशकुमार पण्डितलाई सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी कार्यालय झापाले शुक्रबार पत्रकार सम्मेलन गर्दै उनलाई जबरजस्ती करणी तथा कर्तव्य ज्यानसम्बन्धी कसुरमा अनुसन्धानका लागि पक्राउ गरिएको जानकारी दिएको छ। उनी दमक क्षेत्रमा टायल्स तथा मार्बल जडानसम्बन्धी ठेक्कापट्टाको काम गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख एसपी बसुन्धरा खड्काका अनुसार घटनाको अनुसन्धान सीसीटीभी फुटेज, मोबाइल लोकेसन र अन्य प्राविधिक प्रमाणहरूको आधारमा अघि बढाइएको थियो। प्रारम्भिक विश्लेषणपछि अनुसन्धान टोली अभियुक्तसम्म पुग्न सफल भएको उनले बताइन्।

अनुसन्धानका क्रममा पण्डित र मृतक तिवारीबीच पहिलेदेखि नै चिनजान रहेको खुलेको छ। घटनाको दिनअघि राति उनीहरूबीच दुई पटक भेटघाट भएको र शारीरिक सम्बन्धसमेत भएको प्रहरी अनुसन्धानले देखाएको छ। १३ जेठको राति भेटका क्रममा पैसासम्बन्धी विषयलाई लिएर विवाद चर्किएको बताइएको छ।

प्रहरीका अनुसार युवतीले मागेअनुसार रकम दिन नसकेपछि विवाद बढ्दै गएको र सोही क्रममा राति करिब ११ बजेतिर पण्डितले तिवारीको हत्या गरेको आरोप छ।

हत्या पछि शव कोठामै बोरामा प्याक गरी भारतीय नम्बर प्लेटको मोटरसाइकलमा राखेर दमक–१० स्थित सेतुमारी क्षेत्रको पुलमुनि फालेको अनुसन्धानबाट खुलेको छ। घटनास्थल नजिकै मृतकको चप्पल फेला परेको थियो।

१३ जेठमै शव फालिएको भए पनि १६ जेठमा स्थानीयले रतुवा खोलाको पुलमुनि देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि प्रहरीले प्राविधिक अनुसन्धानलाई तीव्र बनाउँदै घटनाको रहस्य उजागर गरेको हो।

अनुसन्धानका क्रममा अभियुक्त घटना पछि मानसिक तनावमा रहेको र बिहान दमकस्थित पशुपति मन्दिरमा पूजा गर्न पुगेको समेत खुलेको प्रहरीले जनाएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानलाई प्रेम सम्बन्धसँग जोडिएर अघि बढाए पनि ठोस प्रमाण नदेखिएपछि दायरा विस्तार गर्दै अन्ततः पण्डितसम्म पुगेको हो।

इलाका प्रहरी कार्यालय दमकका डीएसपी हरिबहादुर बस्नेत नेतृत्वको टोलीले अनुसन्धान अघि बढाएको हो। पक्राउ परेका पण्डितमाथि थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय