
नेपालगञ्ज। सशस्त्र प्रहरीले बाँकेबाट ट्याक्टरसहित २१ लाख ७९ हजार १८१ रुपैयाँ बराबरका अवैध सामान बरामद गर्नुका साथै लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण मुख्यालय बागेश्वरी बाँके तथा मातहत इकाइबाट खटिएको टोलीले असार १८ र १९ गते सञ्चालन गरेको विशेष चेकजाँचका क्रममा उक्त परिमाणको अवैध सामान बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार भारतबाट अवैध रूपमा नेपालतर्फ ल्याइँदै गरिएका औषधि, लत्ताकपडा, पेय पदार्थ, किराना सामग्री, सुर्तिजन्य पदार्थ, हरियो तरकारी, काठ, एक थान मोटरसाइकल तथा एक थान ट्याक्टर नियन्त्रणमा लिइएको छ।
यसै क्रममा लागूऔषध कारोबारमा संलग्न रहेको आरोपमा बाँकेको जानकी गाउँपालिका–५ गुरुवागाउँ निवासी ३० वर्षीय विष्णु यादव र दाङको तुल्सीपुर उपमहानगरपालिका–३ दमारगाउँ निवासी २६ वर्षीय शेरबहादुर विश्वकर्मालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ६४० मिलिग्राम ब्राउन सुगर, २१० ट्याब्लेट ट्रामाडोल, ४० ट्याब्लेट नाइट्रोभेट तथा ६ ट्याब्लेट स्पास पराक्स बरामद भएको छ।
बरामद गरिएका अवैध सामानहरू आवश्यक कारबाहीका लागि नेपालगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ। साथै लागूऔषधसहित पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।
सीमा क्षेत्रमा हुने तस्करी तथा लागूऔषध ओसारपसार नियन्त्रणका लागि निगरानी र कारबाहीलाई अझ प्रभावकारी बनाइएको सशस्त्र प्रहरी बलले जनाएको छ।



