काठमाडौं, जेठ १९ — त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया जान लागेका नेपाल एयरलाइन्सका एक कर्मचारी ५४ लाख ७१ हजार ६८९ रुपैयाँ बराबरको विदेशी तथा नेपाली मुद्रासहित पक्राउ परेका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालय, गौचरका अनुसार सुनसरीको गढी गाउँपालिका–१ स्थायी घर भई हाल काठमाडौंको बनस्थली बस्ने ५० वर्षीय कमल नारायण विश्वासलाई पक्राउ गरिएको हो।

विश्वास विगत १६ वर्षदेखि नेपाल एयरलाइन्समा ग्राउन्ड इक्विपमेन्ट अपरेटर (GEO) का रूपमा कार्यरत रहेका छन्। उनी जेठ १८ गते राति करिब ८ः३० बजे Batik Air को उडान नम्बर OD181 मार्फत काठमाडौंबाट मलेसियाको क्वालालम्पुर जान लागेका थिए।

विमानस्थलको प्रस्थान कक्षमा ब्यागेज स्क्रिनिङ तथा शरीर खानतलासीका क्रममा उनले लगाएको कालो रङको लोअरको भित्री भागमा विभिन्न देशका मुद्रा लुकाएर लैजान खोजेको अवस्थामा फेला परेको विमानस्थल प्रहरीले जनाएको छ।

प्रहरीले गरेको जाँचका क्रममा १४ हजार ८५० अमेरिकी डलर, २ हजार ९७० ओमानी रियाल, ३ हजार ५४० पाकिस्तानी रुपैयाँ, २३ हजार ६३२ मलेसियन रिङ्गिट, ७ हजार ७७० श्रीलंकन रुपैयाँ, ४१ हजार जापानी येन, १ हजार पश्चिम अफ्रिकी फ्राङ्क तथा ११ लाख नेपाली रुपैयाँ बरामद भएको जनाएको छ।

नेपाल राष्ट्र बैंकको विनिमय दरका आधारमा बरामद मुद्राको कुल नेपाली मूल्य ५४ लाख ७१ हजार ६८९ रुपैयाँ ३२ पैसा हुन आउने प्रहरीले जनाएको छ।

प्रारम्भिक अनुसन्धानका क्रममा बरामद मुद्रा सम्बन्धी कुनै वैधानिक कागजात वा स्रोत खुल्न नसकेको र अवैध रूपमा विदेश लैजान खोजिएको आशंकामा उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

विश्वास यसअघि विभिन्न समयमा २६ पटक विदेश यात्रा गरिसकेको खुलेको छ। घटनाबारे थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि उनलाई राजस्व अनुसन्धान विभाग, हरिहरभवन ललितपुर पठाइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय