चितवन । चितवन प्रहरीले अवैध रूपमा क्रिप्टोकरेन्सी कारोबार तथा डिजिटल ठगीमा संलग्न रहेको आरोपमा एक चिकित्सकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धनुषाको हंशपुर नगरपालिका–४ स्थायी घर भई हाल भरतपुर महानगरपालिका–१० चित्रसेन टोलमा बस्दै आएका २९ वर्षीय डा. पप्पुकुमार यादव रहेका छन्।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार डा. यादवले भरतपुरमा कोठा भाडामा लिएर नेपालमा प्रतिबन्धित मानिएका क्रिप्टोकरेन्सी कारोबार सञ्चालन गर्दै आएका थिए। प्रहरीले उनको कोठामा छापा मार्दा ३० हजार अमेरिकी डलर नगद र १७ थान मोबाइल फोन बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानबाट डा. यादवले वाइनान्स (Binance) र बाइविट (Bybit) जस्ता एप्लिकेसनमार्फत ठूलो परिमाणमा क्रिप्टोकरेन्सीको अवैध सञ्चय तथा कारोबार गर्दै आएको खुलेको प्रहरीले जनाएको छ। उनी भरतपुरस्थित एक अस्पतालमा कार्यरत चिकित्सक रहेको समेत बताइएको छ।

चितवन प्रहरीका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) चन्द्रभुषण यादवका अनुसार डा. यादवले डिजिटल माध्यम प्रयोग गरी विभिन्न व्यक्तिलाई प्रलोभनमा पारेर ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ।

“हालसम्म कति व्यक्तिहरू ठगीमा परेका छन् र यस नेटवर्कमा अन्य को–को संलग्न छन् भन्ने विषयमा विस्तृत अनुसन्धान जारी छ,” डीएसपी यादवले जानकारी दिए।

प्रहरीले डा. यादवलाई हिरासतमा राखी विदेशी मुद्रा अपचलन तथा क्रिप्टोकरेन्सी सम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाएको छ।

प्रविधिको दुरुपयोग गरी हुने साइबर तथा वित्तीय अपराधका घटना बढ्दै गएको भन्दै प्रहरीले यस्ता गतिविधिमाथि विशेष निगरानी र कारबाहीलाई तीव्र बनाइएको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय