
काठमाडौं, जेठ १८ — सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले ठूलो परिमाणमा लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल (ट्रामोल–५०) बरामद गर्दै दुई जनालाई पक्राउ गरेको छ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीले जेठ १२ गते राति करिब २:३० बजे भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरेटारबाट काभ्रेको पनौती नगरपालिका–५ घर भई हाल भक्तपुरको कटुन्जेमा बस्दै आएका ४१ वर्षीय विरध्वज तामाङलाई नियन्त्रणमा लिएको थियो।

निजबाट प्राप्त सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले ललितपुरको गोदावरी नगरपालिका–२ स्थित बिशंखुनारायण मन्दिरबाट करिब ३०० मिटर अगाडि कोटडाँडा जाने सडकछेउमा पतकरले छोपेर राखिएको अवस्थामा ६ वटा बोरा र २ वटा चाउचाउका कार्टुनभित्र लुकाइएका २१ हजार ६४ पत्ता (२ लाख १० हजार ६ सय ४० क्याप्सुल) ट्रामाडोल बरामद गरेको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।
अनुसन्धानका क्रममा प्राप्त थप सूचनाका आधारमा लागूऔषध लुकाउन संलग्न रहेको आरोपमा काभ्रेको कोशीपारी–१ स्थायी घर भई हाल ललितपुरको हरिसिद्धिमा बस्दै आएका ३८ वर्षीय ट्याक्सी चालक सान्तबहादुर तामाङलाई प्रदेश ०१–००२ ज ८८६३ नम्बरको ट्याक्सीसहित जेठ १८ गते पक्राउ गरिएको छ।
सशस्त्र प्रहरीका अनुसार उक्त ट्याक्सी लागूऔषध ओसारपसार तथा लुकाउन प्रयोग भएको आशंकामा नियन्त्रणमा लिइएको हो।
पक्राउ परेका विरध्वज तामाङलाई जेठ १२ गते नै थप अनुसन्धान तथा कारबाहीका लागि प्रहरी वृत्त थिमीमा बुझाइएको थियो भने सोमबार पक्राउ परेका सान्तबहादुर तामाङलाई बरामद लागूऔषध र ट्याक्सीसहित आवश्यक कारबाहीका लागि नेपाल प्रहरी प्रभाग गोदावरी, ललितपुरमा बुझाइएको छ।
सशस्त्र प्रहरीका अनुसार उक्त लागूऔषध केही दिनअघि काठमाडौं भित्रिएको सूचना प्राप्त भएपछि ब्युरोले निगरानी तथा अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानबाट विरध्वज तामाङले कलंकीबाट लागूऔषध ललितपुरको चांगाथलीसम्म पुर्याएको र पछि ट्याक्सी चालक सान्तबहादुर तामाङले केही दिन हरिसिद्धीमा राखेर बरामद भएको स्थानमा लगेर लुकाएको खुलेको छ।



