
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद आशा झा ले मोरङको रंगेलीस्थित इलाका प्रहरी कार्यालयमा ‘पिर्के सलामी’ लिएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्चा सुरु भएको छ।
सार्वजनिक भिडियोमा सांसद झा रातो कपडा बिछ्याइएको पिर्कामाथि उभिएर प्रहरीबाट ‘माननीय सलामी’ लिइरहेको देखिन्छ। उक्त दृश्य सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा विभिन्न प्रतिक्रिया आएका छन्।

मोरङ क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित झा यसअघि २०७९ सालको स्थानीय तह निर्वाचनमा विराटनगर महानगरपालिका–१३ को वडाध्यक्ष पदमा प्रतिस्पर्धा गरेकी थिइन्। उनका पति आमोदकुमार झा उक्त निर्वाचनमा पराजित भएका थिए।
शहीद कुलदीप झा की नातिनी आशा झा नेपाली कांग्रेस निकट पारिवारिक पृष्ठभूमिबाट आएकी हुन्। संघीय निर्वाचनअघि उनी राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेकी थिइन् र सोही दलको उम्मेदवारका रूपमा पहिलो पटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएकी हुन्।



