
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा डाँका चोरी, लुटपाट तथा आपराधिक गतिविधिमा संलग्न रहँदै आएका कुख्यात अभियुक्त गणेश कार्की प्रहरीको गोली लागेर पक्राउ परेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार शनिबार राति करिब साढे ९ बजे जडिबुटी क्षेत्रमा विशेष सूचनाका आधारमा उनलाई पक्राउ गरिएको हो। पक्राउ गर्ने क्रममा कार्कीले प्रहरी टोलीमाथि आक्रमण गर्न खोजेपछि आत्मरक्षाका लागि प्रहरीले उनको बायाँ खुट्टामा गोली प्रहार गरेको थियो। घाइते कार्कीको हाल काठमाडौंस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार शनिबार दिउँसो करिब साढे १ बजे कार्की र उनका सहयोगी इलाम निवासी विष्णु खत्री ले सुकेधारा क्षेत्रमा एक महिलामाथि लुटपाट गरेका थिए। उनीहरूले महिलाको अनुहारमा खुर्सानीको धुलो छर्केर सुनको सिक्री र मोबाइल लुटेर फरार भएका थिए।
घटनापछि सक्रिय बनेको प्रहरीले खत्रीलाई सोही दिन पक्राउ गरेको थियो भने मुख्य योजनाकार कार्की जडिबुटी क्षेत्रमा लुकिछिपी बसेको अवस्थामा फेला परेका हुन्।
प्रहरी अनुसन्धानअनुसार कार्कीको आपराधिक इतिहास लामो छ। वि.सं. २०६४ सालमा उनीविरुद्ध प्रहरी वृत्त बौद्धमा अभद्र व्यवहार तथा बालाजुमा हातहतियार तथा खरखजाना सम्बन्धी मुद्दा दर्ता भएको थियो। सोही वर्ष बौद्धमा उमेश सिंहको हत्या गरेको अभियोगमा उनी दोषी ठहर भई १० वर्ष कैद सजाय भुक्तान गरेका थिए।
जेल सजाय पूरा गरेपछि पनि उनको आपराधिक गतिविधि रोकिएन। वि.सं. २०७८ सालमा उनी जिल्ला प्रहरी परिसर ललितपुरमा चोरी मुद्दा तथा गौशालामा डाँका चोरी सम्बन्धी अर्को मुद्दामा पक्राउ परेका थिए। डाँका चोरी मुद्दामा अदालतले उनलाई ६ वर्ष कैद सजाय सुनाएको थियो।
तर, केन्द्रीय कारागारमा सजाय भुक्तान गरिरहेकै अवस्थामा भदौ २४ गते भएको कारागार विद्रोहको अवसर छोपेर उनी जेलबाट फरार भएका थिए। त्यसयता प्रहरीले उनलाई ‘मोस्ट वान्टेड’ सूचीमा राखी खोजी गरिरहेको थियो।
अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार करिब तीन महिनाअघि कपन क्षेत्रमा पनि उनलाई पक्राउ गर्ने प्रयास गरिएको थियो। तर, उनले प्रहरीकै आँखामा खुर्सानीको धुलो फ्याँकेर भाग्न सफल भएका थिए।
जेलबाट फरार भएपछि कार्कीले काठमाडौंका विभिन्न क्षेत्रमा चोरी तथा लुटपाटका घटनालाई निरन्तरता दिएका थिए। उनले गौशालास्थित एक बिजुली पसलमा चोरी गर्नुका साथै वैदेशिक रोजगारीका लागि जाने व्यक्तिहरूलाई निशाना बनाएर नगद र मोबाइल लुट्ने गरेको खुलेको छ।
यस्तै, पशुपति क्षेत्रमा आफूलाई सादा पोसाकको प्रहरी भनेर चिनाउँदै सर्वसाधारणलाई डर-त्रास देखाई लुटपाट गर्ने गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ। विशेषगरी लागुऔषध दुर्व्यसनीहरूलाई लक्ष्य बनाएर नगद तथा मोबाइल लुट्ने गरेको प्रहरीको भनाइ छ।
अपराधका क्रममा सधैं खुर्सानीको धुलो प्रयोग गरी पीडितलाई असहाय बनाउने कार्की अन्ततः प्रहरीको फन्दामा परेका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।



