
काठमाडौं । विदेशी ब्रान्डको नाममा नक्कली मदिरा उत्पादन भइरहेको सूचनापछि सशस्त्र प्रहरी बल नेपाल ले ललितपुरको चाँगाथली क्षेत्रमा सञ्चालन गरिएको अवैध कारखानामाथि छापा मारेको छ । कारबाहीका क्रममा चार जना पक्राउ परेका छन् भने ठूलो मात्रामा नक्कली मदिरा र त्यसका सामग्री बरामद गरिएको छ ।
सशस्त्र प्रहरीको नेपाल इन्टेलिजेन्स ब्युरोबाट प्राप्त गोप्य सूचनाका आधारमा महालक्ष्मी नगरपालिका–७ चाँगाथलीस्थित बिर्खबहादुर तामाङको घरमा छापा मारिएको थियो । त्यहाँ रेड लेबल, ब्ल्याक लेबललगायत चर्चित विदेशी ब्रान्डको नाम प्रयोग गरेर नक्कली मदिरा उत्पादन भइरहेको भेटिएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा रामेछाप खाँडादेवी गाउँपालिका–२ का मनोज खत्री, रामेछापकै विनोद तामाङ र विवेक तामाङ तथा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका–६ का छिदेन निमा तामाङ रहेका छन् ।
डिआईजी विष्णुप्रसाद भट्ट का अनुसार घटनास्थलबाट मदिरा उत्पादनमा प्रयोग हुने केमिकल, विभिन्न उपकरण, नक्कली लेबल, राजस्व स्टिकर तथा होलोग्रामसमेत बरामद गरिएको छ ।
प्रहरी प्रारम्भिक अनुसन्धानअनुसार उक्त समूहले कम लागतमा नक्कली मदिरा तयार गरी विदेशी ब्रान्डको आवरणमा बजारमा पठाउने गरेको आशंका गरिएको छ । उपभोक्ताको स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै प्रहरीले यस्ता अवैध गतिविधिविरुद्ध निगरानी थप कडा बनाइएको जनाएको छ ।



