
बुटवल ।लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा प्रहरीले अवैध सामान, पशुचौपाया तथा मोटरसाइकलसहित लाखौं रुपैयाँ बराबरका सामग्री बरामद गरेको छ ।
जिल्ला बर्दियाको गुलरिया नगरपालिका–११ लालपुर क्षेत्रमा नेपालबाट भारततर्फ अवैध रूपमा लैजाँदै गरेको अवस्थामा ५ वटा भैँसी (अन्दाजी मूल्य रु. २ लाख ५० हजार) सहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै, रुपन्देहीको कोटहीमाई गाउँपालिका–४ बयरघाटबाट मोटरसाइकलसहित १५० केजी केरा बरामद गरिएको छ । नवलपरासीको सुनवलस्थित एक एग्रोभेटबाट करिब रु. १ लाख ६ हजार बराबरको अवैध धानको बीउ पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी, बाँकेको जमुनाहा क्षेत्रमा भन्सार छली गरी ल्याइएका कुखुरा, बाख्रा, केरा, मोटरसाइकल, कपडा लगायतका सामग्रीसमेत बरामद गरिएको छ, जसको अनुमानित मूल्य करिब रु. २ लाख ६ हजार ५ सय बराबर रहेको छ ।
बरामद गरिएका सम्पूर्ण सामग्री आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ । अवैध चोरी पैठारी तथा भन्सार छली नियन्त्रणका लागि निगरानी र कारवाहीलाई थप प्रभावकारी बनाइएको समेत उल्लेख गरिएको छ ।




