काठमाडौं । गुनासो मात्रै लिने नभई तत्काल समाधान गर्ने उद्देश्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले हटलाइन नम्बर ११५१ लाई थप प्रभावकारी बनाएको छ । मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गर्दै त्यसलाई परिणाममुखी बनाएको जनाएको छ ।

ऊर्जामन्त्री विराज भक्त श्रेष्ठ ले पदभार सम्हालेसँगै “गुनासो सुन्ने र तुरुन्त सम्बोधन गर्ने” कार्यशैलीलाई प्राथमिकतामा राखेपछि मन्त्रालय र मातहतका निकायहरू थप सक्रिय बनेका छन् । मन्त्री श्रेष्ठको निर्देशनपछि विद्युत् सेवासँग सम्बन्धित हटलाइन नम्बर ११५१ लाई चौबिसै घण्टा सञ्चालनमा राखी केवल गुनासो टिप्ने माध्यम नभई प्रत्यक्ष समस्या समाधान गर्ने संयन्त्रका रूपमा विकास गरिएको मन्त्रालयले जनाएको छ ।

सेवाग्राहीका फोन, ह्वाट्सएप, इमेल तथा ‘हेलो सरकार’मार्फत प्राप्त गुनासोलाई तत्काल सम्बन्धित निकायसँग समन्वय गरी समाधान गर्ने प्रणालीलाई प्रभावकारी बनाइएको छ । मन्त्री श्रेष्ठका प्रमुख स्वकीय सचिव सञ्जीव महर्जन र स्वकीय सचिव राजा शाक्यसमेत जनसरोकारका विषय सम्बोधन गर्न प्रत्यक्ष समन्वयमा खटिँदै आएका छन् ।

मन्त्रालयका अनुसार गत चैत १५ गतेयता हटलाइन तथा अन्य माध्यमबाट १० हजार ३९२ भन्दा बढी गुनासो प्राप्त भएका छन् । चैत १५ देखि ३० गतेसम्म फोनमार्फत ४ हजार २४८, ह्वाट्सएपबाट १४, इमेलबाट २ र हेलो सरकारमार्फत ५ वटा गुनासो दर्ता भएका थिए ।

त्यस्तै, वैशाख महिनाभर फोनमार्फत ६ हजार २६, ह्वाट्सएपबाट ९२ तथा इमेलमार्फत १० वटा उजुरी प्राप्त भएका छन् । यसबाहेक २०० भन्दा बढी लिखित निवेदन तथा सञ्चारमाध्यममा प्रकाशित जनसरोकारका विषयलाई समेत मन्त्रालयले निगरानीमा राख्दै समाधान प्रक्रिया अघि बढाएको जनाएको छ ।

प्राप्त अधिकांश गुनासो विद्युत् सेवासँग सम्बन्धित रहेका छन् । विद्युतीय दुर्घटना, लाइन अवरुद्ध, ट्रान्सफर्मर बिग्रिने, कम भोल्टेज, लत्रिएका प्रसारण लाइन, ढलेका पोल तथा टावर, पोल स्थानान्तरण, मिटर रिडिङ समस्या, इभी चार्जिङ तथा सिँचाइसम्बन्धी समस्यालगायत विषय प्रमुख रूपमा उठेका थिए ।

कतिपय घटनामा मन्त्रालयको प्रत्यक्ष सक्रियता देखिएको छ । बाँकेको चिसापानी क्षेत्रमा कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनअन्तर्गत दुई वटा टावर ढल्दा कर्णाली प्रदेशको विद्युत् आपूर्ति प्रभावित बनेपछि मन्त्रालयले तत्काल समन्वय गरी सेवा पुनःस्थापनालाई प्राथमिकता दिएको थियो ।

त्यसैगरी, चट्याङका कारण ट्रान्सफर्मरमा क्षति पुग्दा स्याङ्जाको वालिङ र भिरकोट नगरपालिकामा अवरुद्ध विद्युत् सेवा करिब ६५ घण्टापछि पुनः सञ्चालनमा ल्याइएको थियो । काठमाडौंको स्वयम्भू क्षेत्रमा सडकको बीचभागमा रहेका पोल स्थानान्तरणसम्बन्धी जनगुनासोलाई पनि सम्बन्धित निकायबीच समन्वय गरी समाधान गरिएको सचिवालयले जनाएको छ ।

ऊर्जा मन्त्रालयले अपनाएको यो कार्यशैलीले “सुनुवाइ हुने सरकार”को अनुभूति दिलाउने प्रयास गरेको उल्लेख गरिएको छ । गुनासो दर्ता गरेर महिनौँ कुर्नुपर्ने पुरानो प्रवृत्तिभन्दा फरक तत्काल प्रतिक्रिया र प्रत्यक्ष अनुगमनको अभ्यासले सार्वजनिक सेवा प्रवाहमा सुधार तथा सेवाग्राहीको भरोसा बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय