चितवन ।  चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित सम्भव अटो वर्कशपमा भएको हत्या घटनाका मुख्य आरोपी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले घटनामा संलग्न रहेको आरोपमा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैँडाकोट नगरपालिका–१६ घर भई हाल भरतपुर–१६ बस्दै आएका २७ वर्षीय कृष्ण बहादुर खड्कालाई पक्राउ गरेको जनाएको छ ।

वैशाख २२ गते राति करिब ११ः५० बजे वर्कशपमै काम गर्ने रूपन्देही सैनामैना नगरपालिका–६ घर भई हाल भरतपुर–७ बस्दै आएका ३० वर्षीय आशिष खनालमाथि धारिलो हतियार प्रहार भएको थियो । गम्भीर घाइते भएका खनाललाई उपचारका लागि भरतपुर अस्पताल लगिए पनि चिकित्सकले वैशाख २३ गते राति १२ः२० बजे मृत घोषणा गरेका थिए ।

घटनापछि फरार रहेका खड्कालाई चितवन प्रहरीको टोलीले कास्की प्रहरीसँग समन्वय गरी पोखरा महानगरपालिका–८ सभागृहचोकस्थित अशोक होटलबाट गयराती पक्राउ गरेको चितवन प्रहरी प्रमुख एसपी गोविन्द पुरीले जानकारी दिएका छन् ।

प्रहरीले आरोपीलाई लुकाइछिपाइ राख्न सहयोग गरेको आरोपमा स्याङ्जा घर भई हाल पोखरा–१५ बस्दै आएका २८ वर्षीय सम्राट गुरुङलाई समेत नियन्त्रणमा लिएको छ ।

प्रारम्भिक अनुसन्धानअनुसार मृतक खनाल र आरोपी खड्काबीच विगत ५–६ वर्षदेखि चिनजान तथा मित्रता रहेको खुलेको छ । सम्भव अटो वर्कशपमा केही दिन सँगै काम गर्ने क्रममा उनीहरूबीच आर्थिक कारोबार भएको र रकम तथा मोबाइल फोनको विषयमा विवाद चर्किँदा घटना भएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय