
काठमाडौँ — नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले विद्युतीय कारोबारसम्बन्धी विभिन्न एप तथा प्रणालीको दुरुपयोग गरी बैंक तथा वित्तीय संस्थाका खाताबाट रकम चोरी हुने घटनाहरू बढ्दै गएको भन्दै सर्वसाधारणलाई सावधानी अपनाउन आग्रह गरेको छ।
ब्यूरोले सार्वजनिक गरेको सूचनाअनुसार, कनेक्ट आइपिएससँग मिल्दोजुल्दो नाम प्रयोग गरी विभिन्न मोबाइल नम्बरबाट प्रयोगकर्ताहरूलाई भ्रामक सन्देश तथा एलर्ट पठाउने गरिएको पाइएको छ।

यस्ता सन्देशमार्फत ‘फिसिङ लिङ्क’ पठाई प्रयोगकर्ताको व्यक्तिगत विवरण तथा बैंक खातामा अनधिकृत पहुँच हासिल गरी ठूलो मात्रामा रकम चोरी गर्ने प्रवृत्ति बढ्दै गएको ब्यूरोले जनाएको छ।
दिलीपकुमार गिरी का अनुसार, यस्ता शंकास्पद तथा अनधिकृत लिङ्कहरू नखोल्न र डिजिटल कारोबार गर्दा उच्च सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरिएको छ।
ब्यूरोले अपरिचित स्रोतबाट आएका लिंक, सन्देश वा एपप्रति सजग रहन र कुनै पनि शंकास्पद गतिविधि देखिएमा तत्काल सम्बन्धित निकायलाई जानकारी गराउन समेत अनुरोध गरेको छ।




