
काठमाण्डौं। मधेश प्रदेश प्रहरी कार्यालयले लागुऔषध नियन्त्रणका लागि “लागुऔषध सेवनकर्ता खोजी तथा सुधार महाअभियान” सञ्चालनमा ल्याएको छ।
उक्त अभियानअन्तर्गत शुक्रबार प्रदेशका आठै जिल्लाका प्रहरी प्रमुख तथा मातहतका इकाइहरूलाई ब्रिफिङ गर्दै डिआईजी गोविन्द थपलियाले अभियानको औपचारिक सुरुवात भएको जानकारी दिनुभयो।

अभियानअन्तर्गत सिमानाका क्षेत्रमा लागुऔषध परीक्षण केन्द्र स्थापना गरिनेछ। ‘ड्रग टेस्ट किट’ को प्रयोगमार्फत व्यक्तिले लागुऔषध सेवन गरेको/नगरेको पहिचान गरिनेछ।
सिमानाकाबाट नियमित आवतजावत गर्ने युवायुवतीहरूको तथ्याङ्क संकलन गरी निगरानीसमेत गरिने योजना रहेको छ।
यसैगरी, लागुऔषध सेवनकर्तालाई सिमानामै एक घण्टे सचेतनामूलक कार्यक्रममार्फत प्रशिक्षण दिइनेछ। साथै, उनीहरूको अभिलेख तयार गरी नियमित ट्र्याकिङ गर्ने व्यवस्था मिलाइने मधेश प्रदेश प्रहरी कार्यालयले जनाएको छ।



