
काठमाडौँ उपत्यका — उपत्यकामा ट्राफिक प्रहरीले कडा चेकिङ अभियान तीव्र बनाउँदा पछिल्लो २४ घण्टामा २ हजार ४८९ सवारी चालक कारबाहीमा परेका छन्।
काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय का अनुसार सोही अवधिमा २२ लाख ७४ हजार ५०४ रुपैयाँ राजस्व संकलन भएको छ।

पछिल्ला १५ दिनदेखि काठमाडौं, ललितपुर र भक्तपुरका मुख्य तथा सहायक सडकहरूमा विशेष निगरानी अभियान सञ्चालन भइरहेको छ। सडक दुर्घटना न्यूनीकरण र ट्राफिक अनुशासन कायम गर्ने उद्देश्यले चेकिङ कडा पारिएको कार्यालयले जनाएको छ।
प्रहरीका अनुसार सबैभन्दा बढी ३२५ जना चालक लेन अनुशासन उल्लङ्घन गरेको पाइएका छन्। त्यसैगरी नियमविपरीत राइड सेयरिङ गर्ने २५८, ट्राफिक संकेत उल्लङ्घन गर्ने १७०, तीव्र गतिमा सवारी चलाउने ११२ र मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ४९ जना कारबाहीमा परेका छन्।
यस्तै, सडक पेटीमा सवारी पार्किङ गर्ने १२१, निषेधित क्षेत्रमा हर्न बजाउने ६४ तथा तोकिएको स्थानबाहेक यात्रु चढाउने–ओराल्ने ६२ जना चालकलाई पनि कारबाही गरिएको छ। अन्य विभिन्न उल्लङ्घनमा १ हजार ३२८ जना चालक कारबाहीमा परेको प्रहरीले जनाएको छ।
ट्राफिक प्रहरीका अनुसार कडा चेकिङ अभियानको मुख्य उद्देश्य राजस्व संकलन नभई चालकहरूमा सचेतना अभिवृद्धि र सडक दुर्घटना न्यूनीकरण गर्नु हो। प्रहरीले सवारी चालकलाई ट्राफिक नियम पालना गर्न आग्रह गरेको छ।



