
काठमाण्डौं । भक्तपुरको मनोहरा किनारमा सुकुमबासी बस्ती हटाउने क्रममा शनिबार तनावपूर्ण अवस्था सिर्जना भयो। बस्ती भत्काउने कार्यबीच केही व्यक्तिले प्रहरीमाथि आक्रमण गर्दा प्रहरी वृत्त ठिमीका डीएसपी नवराज ढुंगाना घाइते भए। उनको चिउँडोमा चोट लागेर उपचारका क्रममा ६ टाँका लगाउनुपर्यो।
तर, चोटले उनको जिम्मेवारीप्रतिको समर्पणलाई रोक्न सकेन। आइतबार बिहानैदेखि उनी फेरि घटनास्थलमै सक्रिय देखिए—प्रहरी टोलीसँगै बासिन्दालाई सुरक्षित रूपमा बाहिर निकाल्न, उनीहरूको सामान ओसार्न सहयोग गर्न र समग्र व्यवस्थापनमा खटिँदै।

डोजरले टहरा भत्काइरहँदा वरिपरि रमिता हेर्नेको भीड लागेको थियो, तर ढुंगाना भने उद्धार र समन्वयमै केन्द्रित थिए। घाइते अवस्थामै खटिएको देखेर जब उनलाई आरामबारे प्रश्न गरियो, उनले सहज रूपमा भने—
“काम गर्न सक्ने अवस्थामा हुँदाहुँदै आरामका नाममा छुट्टी लिनु उचित लाग्दैन, म काममै छु।”
प्रहरी संगठनमा कर्तव्यका क्रममा घाइते हुनेलाई बिदा र उपचारको सुविधा दिने व्यवस्था छ। तर, सामान्य चोट भएकै कारण उनले त्यस्तो सुविधा प्रयोग नगरेको बताए।
उनको यो व्यवहार केवल व्यक्तिगत साहस होइन, प्रहरी सेवाको कर्तव्यनिष्ठा र जिम्मेवारीबोधको जीवन्त उदाहरणका रूपमा उभिएको छ।



