
नेपालगन्ज । बाँकेको नेपालगन्जमा प्रहरीले लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिने क्रममा हवाइ फायर गरेको छ। प्रहरीले ३ राउन्ड हवाइ फायर गर्दै ठूलो परिमाणमा खैरो हेरोइन बरामद गरेको हो।
आज दिउँसो करिब साढे ३ बजे नेपालगन्ज–२२ शान्तिचोकमा विशेष सूचनाका आधारमा खटिएको लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय नेपालगन्ज र जिल्ला प्रहरी कार्यालय बाँकेको संयुक्त टोलीले कारबाही गरेको हो। प्रहरी टोलीलाई देखेर संदिग्ध व्यक्तिहरूले आक्रमणको प्रयास गर्दै भाग्न खोजेपछि नियन्त्रणका लागि हवाइ फायर गर्नुपरेको प्रहरीले जनाएको छ।

घटनामा सोही स्थानका २८ वर्षीय दिनेश बास्कोटा, ३६ वर्षीय नुर मोहम्मद टगरिया र २९ वर्षीय फिरोज साहीलाई नियन्त्रणमा लिइएको छ। उनीहरूको साथबाट ३७० ग्राम खैरो हेरोइन बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ।
यसका साथै घटनास्थलबाट तीन थान मोबाइल फोन र भे ४ प ३९४८ नम्बरको मोटरसाइकल समेत बरामद गरिएको छ।
पक्राउ परेका व्यक्तिहरूलाई लागुऔषध नियन्त्रण ब्यूरोमार्फत जिल्ला प्रहरी कार्यालय बाँकेको हिरासतमा राखी थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।



