काठमाडौं । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) सुभाष कुमार पाध्या ‘ट्राफिक पुलिस अफ द मन्थ’ घोषित भएका छन्।

उनी जिल्ला ट्राफिक प्रहरी कार्यालय दोलखाको दरबन्दीमा रही हाल उपत्यकामा कार्यरत छन्। ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूलाई कारबाहीको दायरामा ल्याउँदै, विभागीय नीति निर्देशन तथा आदेशहरूको अक्षरशः पालना गरी जिम्मेवारी निर्वाह गरेको मूल्यांकनका आधारमा उनलाई २०८२ साल चैत महिनाको उत्कृष्ट ट्राफिक प्रहरी घोषणा गरिएको हो।

पाध्याले उपत्यकाको सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका छन्। ट्राफिक व्यवस्थापन सुधार, सवारी दुर्घटना न्यूनीकरण तथा नियन्त्रण, र परिणाममुखी प्रहरी सेवा प्रवाहमा उनको योगदान उल्लेखनीय रहेको कार्यालयले जनाएको छ।

त्यसैगरी, ट्राफिक सचेतना अभिवृद्धि र सडक सुरक्षा सम्बन्धी जनचेतना फैलाउने कार्यमा सक्रिय रहनुका साथै गरिब, विपन्न तथा असहाय नागरिकलाई सहयोग गर्दै उदाहरणीय काम गरेको पनि उल्लेख गरिएको छ।

उनले तोकिएको जिम्मेवारी अनुशासित, पारदर्शी र त्रुटिरहित ढंगले सम्पादन गरेको मूल्यांकनका आधारमा उत्कृष्ट घोषित गरिएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय