रौतहट । जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख प्रहरी निरीक्षक राजेन्द्र थापा मगर मधेश प्रदेशस्तरमै ‘Best Traffic Police of the Month’ घोषित भएका छन्। प्रदेशभरिका आठ जिल्लाको कार्यसम्पादन मूल्यांकनका आधारमा उनलाई चैत्र महिनाको उत्कृष्ट ट्राफिक प्रहरीको रूपमा छनोट गरिएको हो।

नेपाल प्रहरी अन्तर्गत राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैयाले गरेको मूल्यांकनमा मगरको अनुशासित कार्यशैली, सक्रियता र प्रभावकारी नेतृत्वलाई उच्च मूल्याङ्कन गरिएको जनाइएको छ।

सोमबार आयोजित एक कार्यक्रममा कार्यालय प्रमुख एसपी ज्ञानेन्द्र बहादुर बस्नेतले मगरलाई नगद एक हजार रुपैयाँसहित कदरपत्र प्रदान गर्दै सम्मान गरेका थिए। उक्त अवसरमा बस्नेतले मगरले ट्राफिक व्यवस्थापनमा देखाएको जिम्मेवारीबोध र परिणाममुखी कार्यशैली प्रशंसनीय रहेको बताए।

प्रहरी निरीक्षक मगरले ट्राफिक नियम उल्लंघन गर्ने सवारी चालकहरूमाथि कडाइका साथ कारबाही गर्दै आएका छन् भने अर्कोतर्फ सचेतनामूलक कार्यक्रममार्फत जनचेतना अभिवृद्धिमा समेत जोड दिएका छन्। स्थानीय तह र सरोकारवाला निकायसँग सहकार्य गर्दै सञ्चालन गरिएका अभियानहरूले ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ।

विशेषगरी पूर्व–पश्चिम राजमार्ग र चन्द्रपुर–गौर सडक खण्डमा सञ्चालन गरिएका सचेतनामूलक कार्यक्रम, दुर्घटना सम्भावित क्षेत्रको पहिचान तथा स्पिड ब्रेकर र रिफ्लेक्टर जडान जस्ता प्रयासहरूले सडक दुर्घटना न्यूनीकरणमा सकारात्मक प्रभाव पारेको बताइएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय