कैलाली । जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले धनगढी बसपार्क क्षेत्रलाई लक्षित गर्दै यात्रु वाहक सवारी साधनमा व्यवसायिक प्रयोजनका सामग्री नबोक्न कडाइका साथ निर्देशन दिएको छ। यात्रुको सुरक्षालाई केन्द्रमा राख्दै ट्राफिक प्रहरीले यस्तो अभियान सुरु गरेको जनाएको छ।

निमित्त प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष सिंहको नेतृत्वमा खटिएको ट्राफिक टोलीले बसपार्क क्षेत्रमा सक्रिय अनुगमन गर्दै सवारीधनी तथा चालकलाई सचेत गराएको छ। विशेषगरी यात्रु बोक्ने सवारीमा मालसामान लोड गर्दा दुर्घटनाको जोखिम बढ्ने भएकाले यस्ता गतिविधि तत्काल रोक्न आग्रह गरिएको छ।

अनुगमनका क्रममा ओभरलोड तथा नियमविपरीत सामान बोक्ने सवारी साधनमाथि निगरानी तीव्र बनाइएको ट्राफिक प्रहरीले जनाएको छ। यात्रुको सहज र सुरक्षित यात्रा सुनिश्चित गर्न नियमको पूर्ण पालना गर्न चालक तथा व्यवसायीलाई अपिल गरिएको छ।

ट्राफिक प्रहरी कार्यालयले स्पष्ट रूपमा चेतावनी दिँदै नियम उल्लंघन गर्ने सवारीमाथि कानुनी कारबाही गरिने जनाएको छ। यस अभियानले बसपार्क क्षेत्रको व्यवस्थापन सुधार गर्नुका साथै सम्भावित दुर्घटना न्यूनीकरणमा सहयोग पुग्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय