
काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा नेपाल ट्राफिक प्रहरी ले सञ्चालन गरेको विशेष ‘सर्प्राइज चेकिङ’ अभियानका क्रममा ९८ जना सवारी चालक कारबाहीमा परेका छन्। सडक सुरक्षालाई प्राथमिकतामा राख्दै सोमबार सञ्चालन गरिएको उक्त आकस्मिक जाँच अभियानमा ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूलाई नियन्त्रणमा लिई आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको हो।
प्रहरीका अनुसार कारबाहीमा परेकामध्ये ७ जना चालकले मादक पदार्थ सेवन (मापसे) गरेर सवारी साधन चलाएको पुष्टि भएको छ। मापसे गरेर सवारी चलाउनु गम्भीर कानुनी उल्लङ्घन मात्र नभई ज्यानै जान सक्ने जोखिमपूर्ण कार्य भएकाले उनीहरूविरुद्ध कडा कारबाही गरिएको जनाइएको छ।

त्यसैगरी, बाँकी ९१ जना चालक ट्राफिक नियमको सामान्य पालना नगरेको कारण कारबाहीमा परेका छन्। उनीहरूमध्ये कतिपयले रातो बत्ती उल्लङ्घन गरेका थिए भने केहीले लेन अनुशासन कायम नगरी सवारी चलाएको पाइएको छ। साथै, जथाभावी ओभरटेक गर्ने, आवश्यक कागजात नबोक्ने तथा अन्य सडक नियम मिच्ने चालकहरू पनि कारबाहीको दायरामा परेका छन्।
ट्राफिक प्रहरीका अनुसार यस्ता ‘सर्प्राइज चेकिङ’ अभियानले चालकहरूमा नियम पालना गर्ने बानी विकास गर्न र सडक दुर्घटना न्यूनीकरण गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
प्रहरीले सडक सुरक्षालाई प्रभावकारी बनाउन आगामी दिनहरूमा पनि यस्ता आकस्मिक चेकिङ अभियानलाई निरन्तरता दिने जनाएको छ। साथै, सवारी चालकलाई जिम्मेवार ढंगले सवारी चलाउन, ट्राफिक नियमको पालना गर्न र मादक पदार्थ सेवन गरी सवारी नचलाउन आग्रह गरिएको छ।



