काठमाडौँ — ललितपुरको पाटन दरबार स्क्वायर क्षेत्रमा छुरा प्रहारबाट दुई युवकको ज्यान गएको छ। मृत्यु हुनेमा झापा घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय सुमित नेम्वाङ र उनका २५ वर्षीय भाइ सिर्जन नेम्वाङ रहेका छन्।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी होविन्द्र बोगटीका अनुसार घटनामा संलग्न सञ्जीव नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। प्रारम्भिक अनुसन्धानअनुसार सिर्जन नेम्वाङले अन्य व्यक्तिको नम्बर सम्झिएर फोन गर्दा सञ्जीव नेपालीसँग सम्पर्क हुन पुगेको थियो। सोही विषयमा फोनमा भनाभन भएपछि उनीहरूबीच भेटेरै कुरा गर्ने सहमति भएको थियो।

बुधबार दिउँसो करिब ४ बजे पाटन दरबार क्षेत्रमा उनीहरू भेट भएका थिए। भेटका क्रममा विवाद चर्किँदा सञ्जीव नेपालीले छुरा प्रहार गरेको प्रहरीको भनाइ छ।

गम्भीर घाइते भएका दुवै दाजुभाइलाई उपचारका लागि बिएन्डबी अस्पताल लगिएको थियो। उपचारकै क्रममा उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना लगत्तै खटिएको प्रहरी टोलीले केही मिनेटमै दुई जनालाई नियन्त्रणमा लिएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय