काठमाडौं — राजधानीको संवेदनशील गौशाला–पिंगलास्थान क्षेत्रमा सोमबार मध्यराति प्रहरीले सञ्चालन गरेको ‘हाई-रिस्क’ अपरेसनमा एक किलो ब्राउन सुगरसहित दुई भारतीय नागरिक पक्राउ परेका छन्।

लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गोप्य सूचनाका आधारमा अपरेसन सञ्चालन गरेको थियो। शंकास्पद गाडी रोकेर जाँच गर्ने क्रममा भाग्ने प्रयास भएपछि प्रहरीले चेतावनीस्वरूप गोली चलाएको थियो।

प्रहरीको गोली लागेर भारतको बिहार घर भएका करिब ३२ वर्षीय अनिलकुमार पासवान घाइते भएका छन्। उनलाई खुट्टामा गोली लागेको र हाल उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ। उनीसँगै रहेका अर्का एक भारतीय नागरिकलाई भने बिना चोटपटक नियन्त्रणमा लिइएको छ।

प्रहरीले पक्राउ परेकाहरूको साथबाट करिब एक किलो ब्राउन सुगर बरामद गरेको जनाएको छ। उक्त लागूऔषध गाडीभित्र लुकाएर ल्याइएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार पक्राउ परेका व्यक्तिहरू ठूलो लागूऔषध सञ्जालसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ। उनीहरूबाट प्राप्त सूचनाका आधारमा थप अनुसन्धान तीव्र पारिएको छ।

घटनापछि उक्त क्षेत्र केही समय तनावग्रस्त बनेको थियो भने स्थानीयले सुरक्षा सतर्कता बढाउन माग गरेका छन्। प्रहरीले भने लागूऔषध विरुद्धका कारबाहीलाई थप कडाइ गर्ने जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय