
सुरक्षा सरोकार । तेह्रथुममा जन्मिनु भएकी प्रहरी जवान रोष्ना थापा नेपाल प्रहरीको करिब ८० हजार जवानबीच एक अद्वितीय प्रेरणादायी नायक बन्न सफल भएकी छिन्। उनीलाई अनलाइनखबरको “शक्तिशाली ५० महिला” सूचीमा समावेश गर्दै साहस, निडरता र जीवन बचाउने समर्पणको प्रतिक बनेकी छिन्।
सामाखुसीस्थित नेपाल प्रहरी विपद्को प्रतिकार्य तथा तालिम केन्द्रमा कार्यरत रोष्ना हरेक विपद्का बेला तत्पर रहन्छिन्। घटना आएको ७ मिनेट भित्र सूचना पाउँदासाथ उनी घटनास्थलमा पुग्छिन् र पुरुष प्रहरीले समेत गर्न नसकेको जटिल उ-द्धार कार्यलाई क्षणभित्र सम्पन्न गर्छिन्।

सात वर्षभन्दा लामो समयदेखि निरन्तर विपद्का अग्रपंक्तिमा खटिएकी रोष्नाले अनुमानित रूपमा एक हजारभन्दा बढी जीवन बचाइसकेकी छिन्। दिन-रात, घाम-पानी, हिउँद-बर्षा, कुनै बाधा वा असुविधा नदेखी उनी रे-स्क्यु कार्यमा अग्रपंक्तिमा रहिरहन्छिन्। उनको साहस, निडरता, द्रुत निर्णय क्षमता र अडिग मानसिकता सबैलाई प्रेरित गर्छ।
विशेषगरी काठमाडौं उपत्यकामा आएका चुनौतीपूर्ण घटनाहरूमा रोष्नाले प्राविधिक दक्षता, मानसिक बल र शारीरिक क्षमताको उत्कृष्ट प्रयोग गर्दै जीवन रक्षामा अद्वितीय योगदान पुर्याएकी छिन्। उनी रिजर्भ ट्यांकीमा फसेका, आगलागीमा परेका, इनारमा खसेका र अन्य जटिल विपद्को अवस्थामा परेको जनतालाई सुरक्षित स्थानमा पुर्याउन सफल भएकी छिन्।
रोष्नाको कथा केवल एक व्यक्तिको उपलब्धि मात्र होइन; यो समर्पण, साहस, निडरता र मानव जीवनको मूल्यमा अडिग रहने उच्च आदर्शको प्रतीक हो। उनी हरेक प्रहरी जवान र नागरिकका लागि जीवन रक्षामा उत्कृष्टता र प्रेरणाको प्रतिक बनेकी छिन्।
यस्ता प्रतिभाशाली राष्ट्रसेवकहरूलाई अझ सम्मान, समर्थन र प्रोत्साहन मिलोस्। रोष्ना थापाको कामले हामी सबैलाई सिकाउँछ – सच्चा नेतृत्व, अदम्य साहस र निरन्तर समर्पणले मानव जीवनमा असम्भवलाई पनि सम्भव बनाउँछ।



