
सागर उप्रेति -काठमाडौं । ज्येष्ठ नागरिकहरूको स्वास्थ्य सेवामा केन्द्रित विशेष केन्द्र सञ्चालनमा आएको छ। स्वयम्भूस्थित मनमोहन मेमोरियल कलेज एण्ड टिचिङ अस्पतालमा ‘नेपाल ज्येष्ठ नागरिक स्वास्थ्य केन्द्र’ औपचारिक रूपमा सुरु गरिएको हो।
डा. जगदीशकुमार क्षेत्री नेतृत्वको टिमले सञ्चालनमा ल्याएको उक्त केन्द्रको उद्घाटन आइतबार वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले गरेका छन्।

केन्द्रका निर्देशक डा. क्षेत्रीका अनुसार यहाँ अन्तर्राष्ट्रिय अनुभव प्राप्त जेरियाट्रिसियन, विशेषज्ञ फिजिसियन तथा फिजिकल मेडिसिन एण्ड रिह्याबिलिटेशन (PMR) विशेषज्ञहरूको सेवा उपलब्ध हुनेछ। ६० वर्ष वा सोभन्दा माथिका नागरिकलाई लक्षित गर्दै स्वस्थ बुढ्यौली, रोगको रोकथाम र दीर्घायु प्रवर्द्धन गर्ने उद्देश्यले केन्द्र स्थापना गरिएको हो।
उनका अनुसार केन्द्रमा ‘स्वस्थ बुढ्यौली तथा दीर्घायु स्वास्थ्य कार्यक्रम’ मुख्य सेवाका रूपमा सञ्चालन गरिनेछ। यसअन्तर्गत प्रयोगशाला परीक्षण, शरीर संरचना (बडी कम्पोजिसन) विश्लेषण, मांसपेशी स्वास्थ्य तथा शारीरिक कार्यक्षमता मूल्यांकन, मुटु रोग जोखिम परीक्षण, मधुमेह तथा क्यान्सर स्क्रिनिङ, मानसिक तथा मस्तिष्कीय क्षमता परीक्षण, दृष्टि तथा श्रवण परीक्षण, न्यूरोडिजेनेरेटिभ रोगहरूको जेनेटिक परीक्षण, पोषण विश्लेषण तथा एआईमा आधारित दीर्घरोग जोखिम पूर्वानुमानजस्ता सेवाहरू समावेश छन्।
केन्द्रको लक्ष्य ज्येष्ठ नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्नुका साथै उनीहरूलाई सक्रिय, स्वतन्त्र र सम्मानजनक जीवनयापनमा सक्षम बनाउनु रहेको डा. क्षेत्रीले बताए। उनका अनुसार उमेर बढ्दै जाँदा पनि नागरिकलाई सशक्त र आत्मनिर्भर बनाउनेमा केन्द्रको विशेष ध्यान रहनेछ।
उक्त केन्द्र आइतबार बाहेक सातामा ६ दिन, बिहान ८ बजेदेखि साँझ ४ बजेसम्म सञ्चालन हुने जनाइएको छ।



