
काठमाडौं । एक अर्बभन्दा बढी रकम बराबरको अवैध क्रिप्टोकरेन्सी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक भारतीय नागरिकसहित तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुको टोलीले विशेष सूचनाको आधारमा शुक्रबार उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको पश्चिम बंगालका ४१ वर्षीय प्रवेश अली, बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–२० घर भई हाल काठमाडौंको जोरपाटी बस्ने ३१ वर्षीय नरेश रेउले तथा सर्लाहीको ईश्वरपुर–३ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका–२५, नक्खु बस्ने ३० वर्षीया दीप्ति पोखरेल रहेका छन्।

प्रहरीका अनुसार शुक्रबार दिउँसो करिब २:३० बजे काठमाडौंको सामाखुसी क्षेत्रबाट रेउलेलाई नियन्त्रणमा लिई सोधपुछ गरिएको थियो। सोही बयानका आधारमा अपराह्न करिब ४:३० बजे सामाखुसीस्थित रेडन पुल नजिकबाट पोखरेललाई १५ लाख ३० हजार रुपैयाँ नगदसहित पक्राउ गरिएको हो। त्यसपछि साँझ करिब ७ बजे ललितपुरको एकान्तकुनाबाट अलीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
अनुसन्धानका क्रममा अलीको मोबाइलबाट ‘बाइनान्स’ आइडी प्रयोग गरी हालसम्म ९१ लाख ८१ हजार ५१३ अमेरिकी डलर (करिब १ अर्ब ३६ करोड ८० लाख रुपैयाँ) बराबरको क्रिप्टोकरेन्सी कारोबार भएको खुलेको प्रहरीले जानकारी दिएको छ।



