काठमाडौं । लागुपदार्थ सेवन गरेर सवारी साधन चलाउने ४ जना चालकलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ।

मिति २०८२ चैत ६ गते काठमाडौंको सुकेधारामा गरिएको लापसे (ड्रग टेस्ट) चेकिङका क्रममा सार्वजनिक यात्रुवाहक सवारी साधन (भाडाबस) चलाउँदै गरेका ४ जना चालक पक्राउ परेका हुन्।

काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय, लागुऔषध नियन्त्रण ब्युरो तथा ट्राफिक प्रहरी प्रभाग सुकेधाराको संयुक्त टोलीले नेपाल प्रहरी अस्पतालको प्राविधिक सहयोगमा चेकिङ गर्दा उनीहरू लागुपदार्थ सेवन गरी सवारी चलाइरहेको अवस्थामा फेला परेका थिए।

नियन्त्रणमा लिइएका चालकहरूलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौं पठाइएको ट्राफिक प्रहरीले जनाएको छ।

यात्रु बोक्ने जस्तो संवेदनशील सवारी साधनका चालकले नै लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत र दण्डनीय कार्य भएको प्रहरीले स्पष्ट पारेको छ। यस्तो कार्यले चालकसँगै यात्रुहरूको ज्यानसमेत जोखिममा पर्ने भएकाले सचेत रहन आग्रह गरिएको छ।

यात्रुले आफू सवार सवारीका चालकले लागुपदार्थ वा मादक पदार्थ सेवन गरेको शंका लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा तत्काल जानकारी दिन उपत्यका ट्राफिक कार्यालयका प्रमुख नवराज अधिकारीले आग्रह गर्नु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय