दोलखा । दोलखाको इलाका प्रहरी कार्यालय सिंगटीमा कार्यरत प्रहरी निरीक्षक (इन्स्पेक्टर) विष्णुहरी फुयाँल बागमती प्रदेशकै ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषित भएका छन्। बागमती प्रदेश प्रहरी कार्यालयले फागुन महिनाको उत्कृष्ट कार्यसम्पादनका आधारमा उनलाई उक्त उपाधिबाट सम्मानित गरेको हो।

प्रहरी निरीक्षक फुयाँलले दोलखाको उत्तरी क्षेत्रमा भएका विभिन्न गम्भीर आपराधिक घटनाको सफल अनुसन्धान तथा दोषी पक्राउमा उल्लेखनीय भूमिका निर्वाह गरेका कारण उनलाई प्रदेशभरिका प्रहरीमध्ये उत्कृष्ट छनोट गरिएको हो। बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाका प्रहरी नायव महानिरीक्षक दीपक रेग्मीका अनुसार फुयाँलको कार्यकुशलता, सक्रियता र अनुसन्धान क्षमताको मूल्यांकन गर्दै उनलाई ‘सर्वोत्कृष्ट प्रदेश प्रहरी’ घोषणा गरिएको हो।

हत्या, कुटपिट र जबरजस्तीकरणीका घटनामा सफलता

इन्स्पेक्टर फुयाँलले कालिञ्चोक गाउँपालिकामा भएको हत्या प्रकरण, बिगु गाउँपालिकामा भएको कुटपिट घटना तथा उत्तरी क्षेत्रमै भएको जबरजस्तीकरणी सम्बन्धी घटनाको अनुसन्धानमा उल्लेखनीय सफलता हासिल गरेका थिए। ती घटनामा संलग्न दोषीहरूलाई पहिचान गरी पक्राउ गर्न उनले प्रभावकारी नेतृत्व र अनुसन्धान क्षमता देखाएको प्रहरी स्रोतले जनाएको छ।

उनको नेतृत्वमा सिंगटी क्षेत्रको प्रहरी टोलीले अपराध नियन्त्रण तथा अनुसन्धानमा तीव्रता ल्याएको र स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न महत्वपूर्ण योगदान पुगेको मूल्यांकन गरिएको छ।

निर्वाचनमा पनि सक्रिय भूमिका

फुयाँलले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका क्रममा कालिञ्चोक गाउँपालिकामा मोबाइल कमाण्डरको जिम्मेवारी सम्हाल्दै निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए। निर्वाचन अवधिभर सुरक्षा व्यवस्थापन, समन्वय र निगरानीमा उनको सक्रियता प्रशंसनीय रहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

छोटो अवधिमै उत्कृष्ट पहिचान

काठमाडौँ घर भएका इन्स्पेक्टर फुयाँल विगत पाँच महिनादेखि दोलखाको इलाका प्रहरी कार्यालय सिंगटीमा कार्यरत छन्। छोटो समयमै उनले आफ्नो कार्यक्षमता, अनुशासन र कर्तव्यनिष्ठतामार्फत संगठनभित्र अलग पहिचान बनाउन सफल भएका छन्।

प्रहरी संगठनभित्र इमान्दार, मेहनती र परिणाममुखी अधिकृतका रूपमा चिनिन थालेका फुयाँललाई प्राप्त यो सम्मानले अन्य प्रहरी कर्मचारीलाई पनि उत्कृष्ट कार्यसम्पादनका लागि प्रेरणा मिल्ने विश्वास गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय