
शालिक भट्ट \ गुल्मी – लुम्बिनी प्रदेशअन्तर्गत पर्ने गुल्मी जिल्लामा प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा राजनीतिक सरगर्मी उत्कर्षमा पुगेको छ। फागुन २१ गतेका लागि तय भएको निर्वाचनसँगै दुवै संघीय निर्वाचन क्षेत्रमा चुनावी माहोल तातेको छ। गाउँका चौतारीदेखि बजारका चिया पसलसम्म एउटै प्रश्न घन्किरहेको छ— “यसपालि फेरि पुरानै अनुहार दोहोरिन्छ कि नयाँलेबाजी मार्छ?”
विशेषगरी क्षेत्र नम्बर–२ मा यसपटकको प्रतिस्पर्धालाई पुरानो राजनीतिक विरासत र नयाँ परिवर्तनको आकांक्षाबीचको भिडन्तका रूपमा हेरिएको छ। लामो समयदेखि प्रभाव जमाउँदै आएका गोकर्ण विस्ट विरुद्ध यसपटक रास्वपाका उम्मेदवार अधिवक्ता गोविन्द पन्थी मैदानमा उत्रिएपछि चुनावी समीकरण रोचक बनेको छ।

धर्कोट–२ का रामकृष्ण खनाल भन्छन्, “यसपालीको चुनाव अघिल्लाभन्दा फरक देखिन्छ। गोकर्ण विष्टलाई जित्न सहज नहुन सक्छ। जनता परिवर्तनको पक्षमा देखिन्छन्। परिणाम फरक आउन सक्छ।”
गुल्मी–२ मा विगत डेढ दशकदेखि प्रभाव जमाउँदै आएका नेता हुन् गोकर्ण विष्ट। नेकपा एमालेका केन्द्रीय नेता विष्ट २०७० को संविधानसभा निर्वाचनदेखि २०७४ र २०७९ का प्रतिनिधिसभा निर्वाचनसम्म लगातार विजयी हुँदै आएका छन्। बलियो पार्टी संगठन, दीर्घ राजनीतिक सम्बन्ध र व्यक्तिगत नेटवर्कका कारण उनी क्षेत्रका स्थापित नेतृत्वका रूपमा चिनिन्छन्।
समर्थकहरूका अनुसार उनले सडक, शिक्षा, स्वास्थ्य र पूर्वाधार क्षेत्रमा महत्वपूर्ण पहल गरेका छन्। तर आलोचकहरू विकासको गति अपेक्षाअनुसार नदेखिएको, रोजगारी सिर्जनामा उल्लेखनीय उपलब्धि नभएको र युवाको वैदेशिक पलायन रोक्न नसकिएको प्रश्न उठाउँछन्।
स्थानीयस्तरमा अहिले उठिरहेको मुख्य प्रश्न हो— “पटक–पटक अवसर पाएका नेताले जिल्लामाकस्तो गुणात्मक परिवर्तन ल्याए?”
प्रहरी सेवाबाट राजनीतिसम्म पन्थी
यही प्रश्न र असन्तुष्टिको पृष्ठभूमिमा नयाँ चुनौतीका रूपमा देखिएका छन् गोविन्द पन्थी। राजनीतिमा अपेक्षाकृत नयाँ भए पनि उनी सामाजिक सेवामा सक्रिय र प्रशासनिक अनुभव भएका व्यक्ति मानिन्छन्।
पन्थी नेपाल प्रहरीका अवकाशप्राप्त डीएसपी हुन्। प्रहरी सेवामा रहँदा उनले शान्ति–सुरक्षा व्यवस्थापन, अपराध नियन्त्रण र सामुदायिक सहकार्यमा काम गरेका थिए। सामुदायिक प्रहरी साझेदारी कार्यक्रममार्फत नागरिक सहभागिता बढाउने, लागूऔषध, चोरी, घरेलु हिंसा र साइबर अपराधविरुद्ध सक्रियता देखाउने कार्यशैलीका कारण उनी परिचित बनेका थिए।
सेवाकालमा विभिन्न चर्चित प्रकरणहरूको अनुसन्धानमा संलग्न रहेको उल्लेख गरिन्छ। अवकाशपछि उनले अधिवक्ताका रूपमा वैदेशिक रोजगारीमा समस्यामा परेका नेपालीहरूको उद्धार, श्रमिकका कानुनी समस्या समाधान तथा विपन्न नागरिकलाई निःशुल्क कानुनी सेवा उपलब्ध गराउने कार्यमा सक्रियता देखाएका छन्।
उनका समर्थकहरूका अनुसार प्रशासनिक अनुशासन, कानुनी ज्ञान र सामाजिक सक्रियताले उनलाई परिणाममुखी नेतृत्वका रूपमा प्रस्तुत गरेको छ।
यसै क्षेत्रमा नेपाली काग्रेसका उम्मेदवार भुवनप्रसाद श्रेष्ठ तथा अन्य वामपन्थी धारका उम्मेदवारहरू पनि प्रतिस्पर्धामा छन्। यद्यपि चुनावी माहोल मुख्यतः विष्ट र पन्थीबीच केन्द्रित देखिन्छ।
भोटलाई भविष्यसँग जोड्ने अपिल –
पन्थीको चुनावी सन्देश स्पष्ट छ—
“भोट कुनै उपहार होइन, यो भविष्यको निर्णय हो।” उनी भन्छन्, “आज सोचेर भोट हाल्नुभयो भने भोलि पछुताउनु पर्दैन। नेताको अनुहार होइन, काम हेरेर भोट हालौँ। गलतलाई जिताएर सहीको अपेक्षा गर्न सकिँदैन।”
उनका अनुसार साना प्रलोभनले लोकतन्त्र कमजोर बनाउँछ। “पाँच वर्षको भविष्य एक दिनको लोभमा साट्नु हुँदैन,” उनको भनाइ छ।
‘गुल्मी विकास मोडल’
गुल्मी १ का रास्वपा उम्मेदवार सागर ढकाल र पन्थीले अघि सारेको “गुल्मी विकास मोडल” स्थानीय स्रोत र सम्भावनामा आधारित रणनीति भएको दाबी गरिएको छ। उनका अनुसार कृषि, पर्यटन, प्राकृतिक स्रोत र मानव जनशक्तिको उचित उपयोग गर्न सके गुल्मीलाई नमुना जिल्लाका रूपमा विकास गर्न सकिन्छ।
मतदातामाझ बहस र युवाको प्रभाव
गाउँ–टोलदेखि शहरसम्म अहिले बहस छ— “अनुभव रोज्ने कि परिवर्तन?”
तम्घासका महेन्द्र पाण्डे भन्छन्, “अब पार्टीभन्दा एजेन्डा हेरेर नेतृत्व छान्ने समय आएको छ।” इस्माकी प्रतिभा विकका अनुसार एउटै अनुहारलाई बारम्बार भोट दिनु समाधान होइन।
विदेशमा रहेका युवाहरूले सामाजिक सञ्जालमार्फत घरपरिवारलाई सुझाव दिइरहेको स्थानीयहरू बताउँछन्। विश्लेषकहरूका अनुसार प्रवासको मनोवैज्ञानिक प्रभाव पनि यसपटक देखिन सक्छ।
नयाँ शक्तिका लागि चुनौती
परिवर्तनको चर्चा चुलिए पनि स्थापित दलहरूको संगठनात्मक संरचना अझै बलियो मानिन्छ। त्यसैले जनसमर्थनलाई मतमा रूपान्तरण गर्न सक्नु नै पन्थीका लागि मुख्य परीक्षा हुनेछ।
अन्ततः गुल्मी–२ को चुनाव केवल हार–जितको प्रतिस्पर्धा मात्र नभई पुरानो राजनीतिक विरासत र नयाँ अपेक्षाबीचको जनमत परीक्षणजस्तै बनेको छ। फागुन २१ को परिणामले मतदाताको अन्तिम निर्णय स्पष्ट पार्नेछ।



