काठमाण्डौं।  ट्राफिक प्रहरी वृत्त नयाँ बसपार्कमा कार्यरत प्रहरी नायव निरीक्षक महेन्द्र पन्थीले आफ्नो जिम्मेवारीलाई उच्च व्यावसायिकता र अनुशासनका साथ निर्वाह गर्दै उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन उल्लेखनीय भूमिका निर्वाह गर्नुभएको छ।

उहाँले सेवाग्राहीसँग सरल, सभ्य र सम्मानजनक व्यवहार प्रदर्शन गर्दै सडकमा उत्पन्न हुने विविध समस्याहरूलाई तत्काल समाधान गर्ने कार्यमा सक्रियता देखाउनुभएको छ। ट्राफिक जनचेतना अभिवृद्धिका लागि विभिन्न माध्यमबाट सचेतनामूलक गतिविधि सञ्चालन गर्नुका साथै ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी चालकहरूलाई कानुनी दायरामा ल्याई सडक अनुशासन कायम गर्न विशेष योगदान पुर्‍याउनुभएको छ।

सवारी दुर्घटना न्यूनीकरण तथा रोकथाममा परिणाममुखी प्रहरी सेवा प्रदान गर्दै दिइएको जिम्मेवारी पारदर्शी, त्रुटिरहित र विवादरहित ढङ्गले सम्पादन गर्नु उहाँको कार्यशैलीको विशेषता रहँदै आएको छ। साथै, स्वदेशी तथा विदेशी विशिष्ट व्यक्तित्वहरूको सवारी आवागमनलाई सहज, सुरक्षित र व्यवस्थित बनाउन उहाँले कुशल समन्वय र नेतृत्व प्रस्तुत गर्नुभएको छ।

विभागीय नीति, निर्देशन तथा आदेशको अक्षरशः पालना गर्दै आफू खटिएको स्थानमा सवारी आवागमनलाई सरल, सहज, सुरक्षित र भरपर्दो बनाउन निरन्तर क्रियाशील रहनुभएको कारण सर्वसाधारणबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएको छ।

उहाँको हालसम्मको कार्यसम्पादन स्तर उत्कृष्ट र उदाहरणीय रहेको मूल्याङ्कनका आधारमा प्रहरी नायव निरीक्षक महेन्द्र पन्थीलाई २०८२ माघ महिनाको “BEST TRAFFIC POLICE OF THE MONTH” घोषणा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय