
२०८२ फागुन ५, काठमाडौं । काठमाडौं उपत्यकामा शान्ति सुरक्षा व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्ने तीन जना प्रहरी अधिकृतलाई सम्मान गरिएको छ। विभिन्न विरोध प्रदर्शन, आन्दोलन, मेला–पर्व, खेलकुद कार्यक्रम तथा बन्द–हड्तालका क्रममा परिस्थितिको कुशल व्यवस्थापन गरेको मूल्याङ्कनका आधारमा उनीहरूलाई पुरस्कृत गरिएको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंमा कार्यरत प्रहरी उपरीक्षक पवन कुमार भट्टराई र प्रहरी नायव उपरीक्षक कौशल कुमार बुढाथोकीलाई उत्कृष्ट कार्यसम्पादनका लागि रेकर्डमा जनिने गरी सम्मान प्रदान गरिएको जनाइएको छ।
त्यस्तै, प्रहरी वृत्त सिंहदरबारका प्रमुख प्रहरी नायव उपरीक्षक जनार्दन घिमिरेलाई कार्यालयका लागि ३,१७५.१९ वर्ग मिटर जग्गा स्थायी उपयोगका रूपमा व्यवस्थापन गर्न तथा पूर्वाधार विकासमा योगदान पुर्याएको भन्दै सम्मान गरिएको छ।
उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रोत्साहन गर्दा संगठनभित्र सकारात्मक प्रतिस्पर्धा र उच्च मनोबल कायम रहने विश्वास व्यक्त गरिएको छ।



