
रौतहट । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रहरी सहायक निरीक्षक (असई) बनेर विभिन्न व्यक्तिहरूलाई ठगी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन्।
इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले सर्लाहीको कबिलासी नगरपालिका–१० सलेमपुर निवासी ३५ वर्षीया निर्मला महतोलाई पक्राउ गरेको हो। प्रारम्भिक अनुसन्धानका क्रममा महतोले नेहा, निशा र पुनम कुमारीजस्ता विभिन्न उपनाम प्रयोग गरी सर्वसाधारणलाई भ्रममा पार्दै रकम असुल गर्ने गरेको खुलेको छ।

प्रहरीका अनुसार उनले प्रलोभन र विश्वासमा पारेर विभिन्न व्यक्तिहरूबाट लाखौँ रुपैयाँ ठगी गरेकी छन्। सर्लाहीका अटो चालक राजेश्वर साहसँग चिनजान बढाई भन्सारबाट ‘स्कारपियो’ गाडी मिलाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ तथा आवश्यक कागजात लिएको प्रहरीले जनाएको छ।
त्यसैगरी, उनले सन्तोष विश्वकर्माको ज्वेलर्सबाट २ लाख ७४ हजार रुपैयाँ बराबरका गहना, प्रवीण साहको किराना पसलबाट १ लाख २६ हजार रुपैयाँ बराबरका सामान लिई भुक्तानी नगरेको तथा गाडी भाडा समेत नतिरी ठगी गरेको आरोप छ।
सापटीका नाममा पनि ठगी गरेको पाइएको छ। गुजरा नगरपालिकाका विजय साह बनियाँसँग घरायसी समस्या देखाउँदै ५ लाख रुपैयाँ सापटी लिई फरार भएको प्रहरीको भनाइ छ।
पीडितहरूको उजुरीका आधारमा महतोलाई चन्द्रपुर नगरपालिका–६ बाट नियन्त्रणमा लिइएको हो। इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रमुख, प्रहरी नायब उपरीक्षक (डिएसपी) रूपा लाबुङका अनुसार महतोविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभसम्बन्धी कसुरमा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।



