काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन्द्र साह (बालेन) बस्दै आएको धुम्बाराहीस्थित चप्पल कारखानाको डेरामा चोरी गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार धुम्बाराही चप्पल कारखानास्थित सीतादेवी गुरुङको घरमा रहेको बालेनको डेरामा चोरी गर्ने बालाजुका ४२ वर्षीय मनिष राजवाहक, सिन्धुपाल्चोक लिसंखुपाखर–६ स्थायी घर भई काठमाडौं गैरीगाउँ बस्ने ४६ वर्षीय खिमबहादुर खड्का तथा डोटी दिपायल–६ स्थायी घर भई धादिङ धुनिबेँशी–खानीखोला बस्ने ४५ वर्षीय सञ्जय श्रेष्ठ पक्राउ परेका हुन्।

प्रहरीका अनुसार जेन–जी आन्दोलनका क्रममा फरार भएका कैदीहरूको खोजीका क्रममा उनीहरू पक्राउ परेका हुन्। पक्राउ परेकामध्ये मनिष राजवाहक जेन–जी आन्दोलनका क्रममा रास्वपा सभापति रवि लामिछानेसँगै नख्खु कारागारबाट फरार भएका व्यक्ति हुन्।

मनिष राजवाहक २०७९ पुस १८ गते चोरी मुद्दामा ३ वर्ष ६ महिनाको सजाय भोग्न कारागार चलान भएका थिए। उनीविरुद्ध २०७२ जेठ २४ गते प्रहरी वृत्त कालिमाटीबाट सार्वजनिक अपराध तथा २०७२ असार ८ गते प्रहरी वृत्त महाराजगञ्जबाट चोरी मुद्दा दर्ता भएको थियो। उनी काठमाडौं महानगरपालिका–२६ स्थित होटल क्लासिकमा बस्दै आएको खुलेको छ।

प्रहरीले माघ २३ गते बाँसबारीबाट मनिषलाई पक्राउ गरेको हो। उनको साथबाट बालेनको डेराबाट चोरी गरिएका वर्ल्डलिंकको एउटा राउटर तथा दुईवटा सीसीटीभी क्यामेरा बरामद गरिएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय