
काठमाडौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार कार्यालयको वैदेशिक हुलाक भन्सार शाखामा कार्यरत भन्सार अधिकृत ईन्द्र न्यौपानेसहित तीन जनालाई घुस रकमसहित नियन्त्रणमा लिएको छ।
आयोगका अनुसार वैदेशिक हुलाक भन्सार शाखाका भन्सार अधिकृत ईन्द्र न्यौपाने, सोही कार्यालयका सहयोगी गणेश प्रसाद पुडासैनी तथा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय अन्तर्गत हुलाक सेवा विभागको गोश्वरा हुलाक कार्यालय पार्सल शाखामा कार्यरत नायब सुब्बा छवि प्रसाद रिजाललाई १ लाख ४६ हजार ४२० रुपैयाँ घुससहित पक्राउ गरिएको हो।

अख्तियारले उनीहरूलाई सेवाग्राहीसँग घुस रकम माग गरी लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको र आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आयोगले जानकारी दिएको छ।



