
बर्दिबास, महोत्तरी — लागुऔषध नियन्त्रण ब्युरो, शाखा कार्यालय बर्दिबासले आज झापा–काठमाडौँ मार्गमा विशेष सूचनाका आधारमा १७ ग्राम ४९० मिलिग्राम ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ।
ब्युरोका प्र.ना.नि. सरोज कुमार अधिकारी र ई.प्र.का. भिमानसहितको संयुक्त ट्राफिक प्रहरी टोलीले बा ५ ख ५९१५ नम्बरको सवारीसाधनको ६ नं. सिटमा सवार १९ वर्षीय डेविट थापा मगर लाई नियन्त्रणमा लिएको हो।

चेक जाँचको क्रममा, डेविटले लगाएको कालो कटराइज पाइन्टको दायाँ गोजीमा रहेको HAPPYDENT डब्बाभित्र दुई वटा कालो प्लास्टिक पोकोमा लुकाइराखेको खैरो हिरोइन लागुऔषध बरामद भएको छ। बरामद पदार्थ मान्यता प्राप्त तराजुमा तौल गर्दा १७.४९० ग्राम रहेको पुष्टि भएको छ।
पक्राउ परेका डेविट थापा मगरलाई इलाका प्रहरी कार्यालय भिमानमा बुझाएर आवश्यक कानूनी कारबाही अघि बढाइएको छ।
लागुऔषध नियन्त्रण ब्युरोले यस घटनालाई ठूलो सफलता ठहर गर्दै, आगामी दिनमा पनि देशभर प्रतिबन्धित लागुऔषध नियन्त्रणमा सतर्कता बढाउने जनाएको छ।



