
सुर्खेत — लोकसेवा आयोग सुर्खेत कार्यालयद्वारा संचालित प्रहरी जवान (जनपद)को लिखित परीक्षामा नक्कली परीक्षार्थीसहित १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ। शनिबार भएको परीक्षामा आर्थिक लाभ लिई अर्काको नाममा परीक्षा दिने र दिन लगाउनेहरुलाई पक्राउ गरिएको हो।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी मोहनजंग बुढथापाले जानकारी दिए अनुसार, नागरिकता तथा प्रवेशपत्रमा फोटो र हस्ताक्षर बदली गरी परीक्षामा सहभागी हुनेहरू पक्राउ परेका छन्। उनीहरू विरुद्ध लिखत किर्ते र अपराधिक लाभको कसूरमा अनुसन्धान भइरहेको छ।

पक्राउ पर्नेहरूमा जाजरकोट–छेडागाड–११ का १९ वर्षीय केशव थापा, दैलेख–दुल्लु–११ का १८ वर्षीय रमेश नेपाली, सुर्खेत–गुर्भाकोट–१३ का २४ वर्षीय वीरबहादुर ठाडा, जाजरकोट–कुसे–२ का १९ वर्षीय बिपेश सिंह, जाजरकोट–छेडागाड–१० का १९ वर्षीय चन्द्र शाह, कुसे–२ का २३ वर्षीय नवराज विक, बाँके–बैजनाथ–२ का २४ वर्षीय रामु कार्की, बैजनाथ–१ की २५ वर्षीया मोतिलाल थारु रहेका छन्।
साथै, नक्कली परीक्षार्थी बन्न लगाउनेहरूमा जाजरकोट–जुनेदाचाँदे–१ का १८ वर्षीय ललित रावल, जाजरकोट–कुसे–२ का १८ वर्षीय सूर्यकिरण शाही, जाजरकोट–कुसे–२ का २१ वर्षीय निरज शाही र मतियारको रूपमा काम गर्ने जाजरकोट–कुसे–२ का २६ वर्षीय पूर्णबहादुर सिंह पनि पक्राउ परेका छन्।



