
काठमाडौँ । मुलुकको प्रदेश संरचना हटाउँदै सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गर्दै मोबाइलमार्फत समूहगत सन्देश पठाउने एक व्यक्ति पक्राउ परेका छन्।
चितवन घर भएका ३४ वर्षीय निर्देश सेढाईंलाई मंगलबार राति काठमाडौँको हात्तीसार क्षेत्रबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक (एसपी) काजी कुमार आचार्यले जानकारी दिए।

गाडी व्यवसाय गर्दै आएका सेढाईंले नेपाल टेलिकमको गेटवे प्रयोग गरी ‘एटी अलर्ट’ प्रणालीमार्फत करिब ५० लाख एसएमएस पठाएको खुलेको छ। उनले ५० लाख मानिसलाई सन्देश पठाएको स्वीकार गरेको एसपी आचार्यले बताए।
प्रहरीका अनुसार सेढाईंले पठाएको सन्देशमा प्रदेश संरचना हटाई प्रत्यक्ष निर्वाचित संरचना सहितको सनातन संवैधानिक राजसंस्था स्थापना गर्न आह्वान गरिएको थियो। साथै, पुस ३० गते दिउँसो १२ बजे निषेधित क्षेत्र बालुवाटारमा उपस्थित हुन आग्रह गरिएको उल्लेख छ।
मोबाइल सन्देशमार्फत जनतालाई आतङ्कित पारेको आरोपमा सेढाईंमाथि सार्वजनिक हितविरुद्धको कसुरमा अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।



