
इलाम । इलाममा मोटरसाइकल चोरीमा संलग्न गिरोहका नाइकेसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। इलाम नगरपालिका–१२ स्थित सटके मेलाबाट चोरी भएको मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिइएको हो।
जिल्ला प्रहरी कार्यालय इलामका अनुसार देउमाई नगरपालिका–७ निवासी दावा तामाङको नाममा दर्ता रहेको बा.प्र.०३–००५ प ७०६७ नम्बरको मोटरसाइकल मिति २०८२ साल पुस १९ गते राति करिब १० बजे चोरी भएको थियो। घटनाबारे प्राप्त उजुरीका आधारमा प्रहरीले खोजतलास सुरु गरेको थियो।

खोजतलासका क्रममा मिति पुस २० गते बिहान करिब ३:५० बजे देउमाई नगरपालिका–४ मंगलबारेस्थित बासुदेव कट्टेलको घर अगाडि पार्किङ गरी राखिएको अवस्थामा उक्त मोटरसाइकल फेला परेको प्रहरीले जनाएको छ।
घटनाको थप अनुसन्धान तथा सोधपुछका क्रममा उक्त घरमा कोठा भाडामा बस्दै पाथिभरा ग्यारेजमा काम गर्ने झापा जिल्ला, झापा गाउँपालिका–२ कुमरखोत निवासी २० वर्षीय संजित मण्डल र भारतको बिहार राज्य अन्तर्गत अररिया निवासी २० वर्षीय मोहमद समिर शेखले मोटरसाइकल चोरी गरी ल्याएको खुल्न आएको छ।
प्रहरीले दुवै जनालाई मिति पुस २० गते बिहान करिब ४ बजे उनीहरू बसिरहेको कोठाबाटै पक्राउ गरेको हो। पक्राउ परेका अभियुक्तहरूलाई इलाम जिल्ला अदालतमा उपस्थित गराई मिति पुस २० गतेदेखि लागू हुने गरी १० दिनको म्याद लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।



