
काठमाडौं । नक्कली नोटको कारोबार भइरहेको गोप्य सूचनाका आधारमा काठमाडौं प्रहरीले बाराका दुई जनालाई नक्कली नोट छाप्ने मेसिन तथा उपकरणसहित पक्राउ गरेको छ।
प्रहरीका अनुसार पौष १६ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–८ उत्तरखेल चोकबाट १ हजार दरका ९३ थान नक्कली नोटसहित ६ जनालाई नियन्त्रणमा लिई ७ दिनको म्याद लिएर थप अनुसन्धान गरिएको थियो। अनुसन्धानका क्रममा उक्त घटनामा संलग्नता देखिएका व्यक्तिहरूलाई सोधपुछ गर्दा नक्कली नोट छाप्ने मुख्य व्यक्ति सबि कुमार श्रीवास्तव रहेको खुलेको हो।

पक्राउ पर्नेमा बाराको कलैया उपमहानगरपालिका–२ कबलपुर निवासी ४२ वर्षीय गौरीशंकर यादव र फेटा गाउँपालिका–३ घर भई हाल भारतको मोतिहारी लाला टोल पतौना बस्ने २८ वर्षीय सबि कुमार श्रीवास्तव रहेका छन्।
सोधपुछका क्रममा श्रीवास्तवले नक्कली नोट छाप्ने कार्य गर्दै आएको र पौष २० गते नक्कली नोट छाप्न आवश्यक सामग्री नेपाल ल्याउने योजना रहेको खुलाएपछि प्रहरी सक्रिय भएको थियो। उक्त सूचनापछि बीआर ०५ एएफ २५११ नम्बरको भारतीय बुलेट मोटरसाइकलमा नक्कली नोट छाप्ने मेसिन, कम्प्युटर तथा अन्य प्रिन्टिङ उपकरणहरू काठमाडौं ल्याउँदै गरेको अवस्थामा जिल्ला प्रहरी कार्यालय बारा समन्वयमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धको टोलीले श्रीवास्तवलाई नियन्त्रणमा लिएको काठमाडौंका प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।
पक्राउ परेका व्यक्तिहरूको साथबाट प्रहरीले पाँच वटा गाडीमा राखिएका भारतीय ५ सय दरका ३१७ थान नक्कली नोट, मोनिटर, किबोर्ड, माउस, केबल तार १० थान, मोबाइल, कलर प्रिन्टर, सीपीयू, ‘एम अडियो’ लेखिएको बक्स, टोनर ८ थान, नक्कली पेस्तोल तथा लालिगुराँसको वाटरमार्क छापिएको ‘१०००’ लेखिएको कागज १८० थान र सादा कागज ७५ थान गरी जम्मा २५५ थान कागज बरामद गरिएको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।



