
काठमाडौँ — वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई यूके पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरूमा दाङ राप्ती गाउँपालिका–१ बस्ने प्यूठान नगरपालिका–९ घर भएका ३९ वर्षीय इन्द्रबहादुर केसी, काठमाडौं स्वयम्भू बस्ने धादिङ थाक्रे गाउँपालिका–५ घर भएका ४० वर्षीय आइते तामाङ र काठमाडौं महानगरपालिका–१५ बस्ने ३४ वर्षीय विजय गुरुङ रहेका छन्।

प्रहरीका अनुसार इन्द्रबहादुर केसी र आइते तामाङले यूके पठाइदिने आश्वासन दिई ७ जना पीडितबाट जम्मा १३ लाख रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए। त्यस्तै, विजय गुरुङले पनि यूके पठाइदिने भन्दै १ जना पीडितबाट ५ लाख रुपैयाँ लिई फरार भएपछि पीडितहरूले प्रहरीमा उजुरी दिएका थिए।
उजुरीको आधारमा अनुसन्धान गर्दै जाँदा उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।



