ओखलढुंगा — जिल्लामा पछिल्लो तीन महिनायता शृंखलाबद्ध रूपमा हत्या तथा लुटपाट गर्दै आएको एक आपराधिक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी), कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर तथा जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त अनुसन्धान टोलीले चार जना अभियुक्तलाई पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो।

पक्राउ पर्नेमा ओखलढुंगा चिशंखुगढी गाउँपालिका–३, दियाले निवासी २८ वर्षीय मिलन भन्ने संगम राई, सोही गाउँपालिका–४ का ३० वर्षीय विनोद राई, ३० वर्षीय प्रकाश भुजेल र चिशंखुगढी गाउँपालिका–८ माम्खा बस्ने ३० वर्षीय दोर्जे भन्ने अशोक भुजेल रहेका छन्। विनोद राईलाई शुक्रबार दियालेबाट पक्राउ गरिएको थियो भने बाँकी तीन जनालाई शनिबार राति पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उक्त गिरोहले गत पुस १५ गते राति करिब ८ बजे चिशंखुगढी गाउँपालिका–६, भदौरे गैरीगाउँमा किराना पसल सञ्चालन गर्दै आएका ६० वर्षीय शोभितमान थापा मगर र उनकी ६० वर्षीया श्रीमती रत्नमाया थापा मगरको हत्या गरेको थियो। हत्यापछि उनीहरू पसल तथा कोठामा रहेको करिब एक लाख रुपैयाँ नगद, दुई तोला सुनका गरगहना र करिब छ तोला काँचो सुन लुटपाट गरी फरार भएका थिए।

उक्त घटनापछि सीआईबी, कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र जिल्ला प्रहरी कार्यालय ओखलढुंगाको संयुक्त टोलीले सघन अनुसन्धान थालेको थियो। अनुसन्धानकै क्रममा पक्राउ परेका अभियुक्तहरूसँग गरिएको प्रारम्भिक सोधपुछबाट उनीहरू यसअघि पनि अर्को हत्या घटनामा संलग्न रहेको खुल्न आएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार अभियुक्तहरूले गत असोज २६ गते राति करिब २ बजे ओखलढुंगा सिद्धिचरण नगरपालिका–४ चार्खुमा बसोबास गर्दै आएकी ५२ वर्षीया एकल महिला रत्नकुमारी कटवालको पनि हत्या गरेका थिए। कटवालको घरमै हत्या गरी नगद तथा सुनका गरगहना लुटपाट गरिएको घटनामा समेत यही समूह संलग्न रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी मदन केशीले जानकारी दिए।

प्रहरीले अभियुक्तहरूको साथबाट चार्खु घटनास्थलमा प्रयोग भएको बन्चरो एक थान, रत्नकुमारी कटवालको हत्या पश्चात् लुटिएको सुन पगालेर बनाइएको औँठी, रिचार्ज कार्ड, दुई नाल भरुवा बन्दुक र केही मोबाइल फोनहरू बरामद गरेको जनाएको छ।

प्रारम्भिक अनुसन्धानमा उक्त समूहको मुख्य उद्देश्य लुटपाट रहेको देखिएको प्रहरीको भनाइ छ। साथै, अभियुक्तहरू मादक पदार्थ सेवन गर्ने र आर्थिक अवस्था कमजोर रहेको पाइएको पनि प्रहरीले जनाएको छ।

हाल अभियुक्तहरूलाई म्याद थप गरी जिल्ला प्रहरी कार्यालय ओखलढुंगाबाट थप अनुसन्धान कार्य भइरहेको डीएसपी केशीले बताए। प्रहरीले घटनासँग सम्बन्धित अन्य सम्भावित संलग्नता र विवरणबारे पनि अनुसन्धान जारी राखेको जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय