मकवानपुर । मादक पदार्थ सेवन (मापसे) चेकजाँचका क्रममा ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई घाइते बनाएर फरार भएका कार चालकलाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा हेटौंडा उपमहानगरपालिका–५, गर्दोई निवासी ४६ वर्षीय बासुदेव आचार्य रहेका छन्।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको टोलीले बिहीबार (पुस १७ गते) राति करिब पौने ८ बजे हेटौंडा उपमहानगरपालिका–११ थानाभर्‍याङस्थित सडकखण्डमा नियमित मापसे चेकजाँच गरिरहेको थियो। सोही क्रममा नवलपुरबाट हेटौंडा बजारतर्फ आउँदै गरेको एक कारलाई प्रहरीले रोकेको थियो।

ट्राफिक प्रहरीले ‘ब्रेथलाइजर’ मेसिन प्रयोग गरी मापसे चेक गर्न खोज्दा चालकले अचानक कारको सिसा बन्द गरी गाडी भगाएका थिए। उक्त क्रममा ब्रेथलाइजरसहित ड्युटीमा रहेका एक प्रहरी जवान कारमा अड्किएर करिब १० मिटर घिसारिँदा घाइते भएका थिए।

घटनापछि फरार रहेका कार र चालकको खोजी गर्ने क्रममा प्रहरीले शुक्रबार चितवनको भरतपुरबाट बा ६ च ८४०९ नम्बरको कार फेला पारी सोही स्थानबाट चालक आचार्यलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार घटनासम्बन्धी थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय