
काठमाडौँ । ललितपुरको गोदावरी नगरपालिका–२ बिशंखुनारायणस्थित एक रिसोर्टमा गोप्य रूपमा सञ्चालन भइरहेको ‘अन्डरग्राउण्ड म्युजिकल पार्टी’ मा प्रहरीले छापा मारेर लागुऔषधसहित ९ जनालाई पक्राउ गरेको छ।
लागुऔषध नियन्त्रण ब्युरो, कोटेश्वरबाट खटिएको प्रहरी टोलीले ६ जना विदेशी नागरिक र ३ जना नेपालीलाई नियन्त्रणमा लिएको हो। ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक जनक बहादुर शाहीका अनुसार दक्षिण भारतका केही व्यक्तिहरूले नेपाली नागरिकको सहकार्यमा ‘महामाया मन्त्र इभेन्ट’ नाम दिइ ७२ घण्टासम्म निरन्तर पार्टी आयोजना गरिरहेका थिए।

पार्टीमा लागुऔषधको कारोबार भइरहेको भन्ने विशेष सूचनाको आधारमा पुस १६ गते ब्युरो र स्थानीय प्रहरीको संयुक्त टोलीले रिसोर्टमा छापा मारेको हो। छापाका क्रममा सहभागीहरूको साथबाट एलएसडी ६ पिस, गाँजा २२.२४० ग्राम, चरेस ६१ ग्राम, एमडीएमए १ पिस तथा म्याजिक मसरुम ४ ग्राम बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा भारतका ५ जना, ग्रिसका १ जना र नेपालका ३ जना नागरिक रहेका छन्। पक्राउ परेका भारतीय नागरिकहरूमा केरलाका २१ वर्षीय केभिन जोसेफ, २८ वर्षीय सादिक, २३ वर्षीय आश्विन अन्टु, २८ वर्षीय वैष्णव के. साजु तथा हैदरावादका २६ वर्षीय अभिराज कुथाडी रहेका छन्। साथै ग्रिसका २१ वर्षीय नागरिक डिमिट्रिओस काट्टोस पनि पक्राउ परेका छन्।
पक्राउ परेका सबै व्यक्तिहरूलाई लागुऔषध (नियन्त्रण) ऐन, २०३३ अनुसार काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान अगाडि बढाइएको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।



