जाजरकोट। जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट खारा जंगलमा अवैध रूपमा सिकार गर्न गएका समूहका एक व्यक्तिको गोली लागेर मृत्यु भएपछि प्रहरीले अवैध हातहतियारसहित पाँच जनालाई पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार मिति २०८२ साल ९ महिनाको १३ गते बिहान करिब ९ बजे सिकार गर्न जंगल गएका ६ जनामध्ये सोही स्थानका अन्दाजी ३६ वर्षीय प्रचण्ड देव सिंह लाई भरुवा बन्दुकको गोली लागेको थियो। उनी सोही जंगलमा शंकास्पद अवस्थामा मृत फेला परेको सूचना मिति १४ गते बिहान ९:२५ बजे प्राप्त भएपछि प्रहरी परिचालन गरिएको हो।

सूचना प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दल्ली जाजरकोटबाट प्रहरी निरीक्षक किरण सापकोटाको कमाण्डमा SOCOसहितको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। घटनामा संलग्न व्यक्तिहरूले अवैध भरुवा बन्दुक लुकाइराखेको अवस्थामा फेला पारेर प्रहरीले हातहतियारसहित नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय जाजरकोटमा ल्याएको जनाएको छ।

प्रहरीले पक्राउ परेकामाथि कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजना सम्बन्धी कसुर अन्तर्गत मुद्दा दर्ता गरी जाजरकोट जिल्ला अदालतबाट ७ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान अघि बढाइएको छ।

पक्राउ परेका व्यक्तिहरू इन्द्रबहादुर सिंह, मीमबहादुर सिंह, राजिब शाही, जनक कार्की र लालबहादुर सिंह रहेका छन्।

बरामद गरिएका हातहतियार तथा  बरामद सामग्रीमा भरुवा बन्दुक ३ नाल, फलामको चक्कु २ थान, बारुदजस्तो देखिने कालो धुलो पदार्थ १३५.१८ ग्राम, भरुवा बन्दुकमा प्रयोग हुने फलामका टुक्रा २१ थान तथा भरुवा बन्दुकमा प्रयोग हुने केव ११ थान रहेका छन्।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी सुधिर कमर खड्काले जानकारी दिनुभएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय