
कैलाली— सुदूरपश्चिम प्रदेशमा कार्यरत उत्कृष्ट प्रहरी कर्मचारीहरूलाई ७०औं प्रहरी दिवसको अवसरमा पुरस्कृत गरिएको छ। शुक्रबार आयोजित कार्यक्रममा संगठनले प्रहरी जिम्मेवारी कुशलतापूर्वक निर्वाह गरेका एसपीसहित २५ जनालाई सम्मान गरेको हो।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार एसपीद्वय रामप्रकाश शाह र प्रेमबहादुर शाही, डीएसपीद्वय निशान्त श्रीवास्तव र डा. पुनम पाठक, इन्सपेक्टरहरू हेमराज भट्ट, प्रकाश कार्की, राजन उप्रेती, अर्जुन सिंह साउद, वीर बहादुर पार्की र डा. नम्रता पण्डित लगायत २५ जनालाई पुरस्कृत गरिएको छ।

पुरस्कार वितरण समारोहमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायक महानिरीक्षक ओम बहादुर राणाले उत्कृष्ट हुने प्रहरी सबैलाई सम्मान गरे।
प्रहरी निरीक्षक हेमराज भट्ट हरेक वर्ष उत्कृष्ट प्रहरीको सूचीमा पर्छन्। २०८० मा उनले कञ्चनपुरको पुनर्वासस्थित इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीमा जिम्मेवारी सम्हालेको पहिलो महिनामै एक युवतीको रहस्यमय मृत्युको घटनाको सफल अनुसन्धान गरेपछि चर्चा बटुलेका थिए।
त्यसैगरी, पुनर्वासमा रहँदा उनले खुलेआम खेल्दै आएका खडखडे जुवा र तस्करी नियन्त्रणमा उल्लेख्य भूमिका खेलेका थिए। जिम्मेवारीप्रति अत्यन्त बफादार निरीक्षक भट्टले यसअघि जिल्ला प्रहरी कार्यालय टिकापुर, वडा प्रहरी कार्यालय धनगढी र काठमाडौंको नयाँ बानेश्वरमा पनि उत्कृष्ट कार्य गर्दै चर्चा पाएका छन्।
हाल बुधबार नेपाल प्रहरी प्रधान कार्यालयले सार्वजनिक गरेको कार्यालय प्रमुखहरूको सरुवामा प्रहरी निरीक्षक भट्टलाई जिल्ला प्रहरी कार्यालय दार्चुलाको अपराध नियन्त्रण तथा अनुसन्धान शाखामा सरुवा गरिएको छ।



