काठमाडौं — प्रहरी सेवामा असाधारण कार्यसम्पादन, अनुशासन, र अदम्य साहस प्रदर्शन गर्ने दुई प्रहरी अधिकारीलाई नेपाल प्रहरीले विशेष बढुवासहित दर्ज्यानी चिह्न प्रदान गरेको छ।

७०औं प्रहरी दिवस–२०८२ का अवसरमा शुक्रबार नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले प्रहरी नायव निरीक्षक हेमबहादुर बिक र प्रहरी हवल्दार संगिता अधिकारीलाई दर्ज्यानी चिह्न प्रदान गर्नुभयो।

विशेष बढुवा प्राप्त बिक हाल प्रहरी वृत्त महाराजगञ्ज, काठमाडौंमा कार्यरत छन् भने अधिकारी जिल्ला अदालत समन्वय तथा सुरक्षा प्रहरी इकाइ, दाङमा सेवा गरिरहेकी छन्।

राष्ट्र र संगठनको प्रतिष्ठा उकास्ने कार्यमा उल्लेखनीय योगदान पु–याउँदै, कर्तव्यपालनमा देखाएको साहस, इमानदारी र पेशागत मर्यादाको उच्च मूल्याङ्कनका आधारमा नीति निर्माण समितिको सिफारिस अनुसार उनीहरूलाई एक तह विशेष बढुवा गरिएको हो।

कार्यक्रममा आईजीपी खापुङले नेपाल प्रहरीको इतिहास साहस, त्याग र समर्पणका कथाहरूले भरिएको बताउँदै, उत्कृष्ट कार्य गर्ने प्रहरी सदस्यहरू संगठनका गौरव भएको उल्लेख गर्नुभयो। उहाँले “कर्तव्य र सेवा नै प्रहरीको पहिचान हो, जसले आफ्नो जिम्मेवारीलाई निष्ठा र समर्पणका साथ पूरा गर्छ, ऊ सधैं प्रेरणाका स्रोत बन्छ,” भन्दै दुवै अधिकारीलाई बधाई दिनुभयो।

दर्ज्यानी चिह्न ग्रहणपछि बिक र अधिकारी दुवैले संगठनले दिएको जिम्मेवारीलाई अझ निष्ठापूर्वक, इमानदारीपूर्वक र जनसेवामा समर्पित भएर पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनीहरूलाई प्राप्त विशेष बढुवा न केवल व्यक्तिगत सफलता हो, बरु यो समग्र प्रहरी संगठनको मनोबल वृद्धि गर्ने प्रेरणादायी उपलब्धि पनि हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय