
काठमाडौं। नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत नेपाल प्रहरी प्रधान कार्यालय, नक्सालले प्रहरी नायब उपरीक्षक श्री मधु कुमार थापालाई ७०औं प्रहरी दिवस २०८२ को अवसरमा “उत्कृष्ट प्रहरी कार्य” पुरस्कार प्रदान गरेको छ।
प्रहरी वृत्त कालिमाटी, प्रमुखको रूपमा कार्यरत थापाले राष्ट्र र नागरिक सेवामा समर्पित भई “सत्य सेवा सुरक्षणम्” को आदर्शबाट प्रेरित भएर प्रभावकारी प्रहरी सेवा, शान्ति सुरक्षा कायम राख्ने कार्य, उच्च प्रदर्शन, अनुशासन, व्यावसायिक दक्षता र निरन्तर अठोट प्रदर्शन गरेका छन्। उनका नेतृत्वमा कालिमाटी वृत्तले सार्वजनिक सुरक्षा, अपराध नियन्त्रण र समुदायसँगको सम्बन्धमा उल्लेखनीय योगदान गरेको जनाएको छ।

नेपाल प्रहरीका महानिरीक्षक चन्द्र कुबेर खापुङ्गले उक्त अवसरमा पुरस्कार प्रदान गर्दै थापाको योगदानको उच्च मूल्याङ्कन गरेका छन्। उनले भविष्यमा पनि राष्ट्र सेवाको पवित्र कार्यमा कटिबद्ध भएर आफ्नो जिम्मेवारी निर्वाह गर्ने शुभकामना व्यक्त गरेका छन्।
हाल थापा कालिमाटी वृत्त प्रमुखको रूपमा कार्यरत छन्। प्रहरी संगठनभित्र उनी कुशल, अनुशासित र काबिल अधिकारीका रूपमा परिचित छन्। सहकर्मीहरू र वरिष्ठ अधिकारीहरूले उनलाई प्रतिबद्धता, व्यावसायिक दक्षता र नेतृत्व क्षमताका लागि सराहना गर्ने गर्दछन्।



