
ईलाम, २३ असोज । हालैको भीषण वर्षासँगै ईलाममा आएको बाढी र पहिरोले जनधनमा ठूलो क्षति पुर्याएको कठिन घडीमा, सुरक्षाकर्मीहरूको समर्पण र साहसले जिल्लाभर आशा र आत्मबल पुनर्जीवित बनाएको छ।
ईलामका प्रहरी प्रमुख एक नारायण कोईरालाको नेतृत्वमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीय प्रशासनका टोलीहरू अहोरात्र उद्धार तथा राहत कार्यमा खटिएका थिए। कोईराला स्वयं अग्रपंक्तिमा उभिएर जोखिमपूर्ण स्थानहरूमा पुगेर पहिरोले अवरुद्ध बाटोहरू खुलाउनेदेखि बाढीले बेपत्ता बनाएका नागरिकको खोजी र उद्धारमा सक्रिय रुपमा संलग्न रहे।

त्याग र समर्पणको उदाहरण बनेका प्रमुख कोईरालासहितका सुरक्षाकर्मीहरूले नदिनको हिसाब गरे, नथकानाको पर्वाह। मेचि राजमार्ग (हाइवे) पहिरोले अवरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी सुनिता नेपालको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोलीले ईलाम सदरमुकामदेखि पाँचथरसम्मको मार्ग निरन्तर मेहनतका साथ खुलाउँदै हाइवे पुनः सञ्चालनमा ल्याएका छन्।
स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलबीचको समन्वय र एकताले उद्धार तथा राहत कार्यलाई तीव्र गति दिएको छ। यो एकताको बलमै धेरै नागरिकको ज्यान बचाउन सफल भएको ईलाम प्रशासनले जनाएको छ।
विपद्को घडीमा “हामी यहाँ छौं” भन्ने भावनासहित जोखिममाथि जोखिम लिँदै, जनताको सुरक्षाका लागि दिनरात नभनी खटिने यी समर्पित सुरक्षाकर्मीहरूलाई जिल्लावासीले गहिरो सम्मान र हार्दिक नमन व्यक्त गरेका छन्।
सबैको साझा प्रयास र समन्वयका कारण आज ईलामका जनताले राहतको सास फेर्न पाएका छन् — जसको मूलमा छ स्थानीय तह, जिल्ला प्रशासन कार्यालय ईलाम, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सम्पूर्ण सुरक्षा संयन्त्रबीचको एकता तथा जनताको साथ।



