
— रेशम पराजुली
२०८२ साल भदौ २३ र २४ गते भएको Gen-Z आन्दोलन नयाँ पार्टी वा नयाँ व्यवस्था ल्याउनका लागि होइन, देशमा जरो गाडेर बसेको भ्रष्टाचार र त्यसको परिणामस्वरूप सिर्जित असमानता, विलासी जीवनशैली र सामाजिक अन्यायविरुद्ध गरिएको थियो।

२०४६ सालपछि सत्ता सम्हालेका राजनीतिक दलहरूले राज्य र जनताको हितभन्दा आफ्ना परिवार र भावी पुस्ताका लागि सम्पत्ति जोड्ने कार्यले हद नाघेपछि नयाँ पुस्ताका भाइबहिनीहरू सडकमा उत्रिएका थिए। शान्तिपूर्ण ढंगले सुरु भएको प्रदर्शनमा अन्य पक्षको घुसपैठ हुँदा आन्दोलन सत्ता परिवर्तनसम्म पुग्यो।
यस क्रममा विशेषगरी २०४६ सालपछि आलोपालो गरी सत्तामा पुगेका दलका नेताहरू, उनीहरूका पार्टी कार्यालय, सुरक्षा निकाय — विशेष गरी नेपाल प्रहरीका संरचना — र केही निजी क्षेत्रसमेत प्रदर्शनकारीको निशानामा परे। देशले इतिहासमै कहिल्यै नभोगेको ठूलो क्षति बेहोर्नुपर्यो।
आन्दोलन उग्र बन्दा प्रधानमन्त्री, राष्ट्रपति, शीर्ष नेतादेखि सुरक्षाकर्मीहरूसम्म पनि प्रदर्शनकारीको कब्जामा पर्ने स्थिति आयो। कतिपय नेताहरू कुटपिटसम्ममा परी ‘अब राजनीतिमा नजाने’ भन्न बाध्य भए। जनतामाझ अब नेताहरू सत्तामा पुग्दा पनि भ्रष्टाचारको नाम सुन्दा डराउने, सच्चिने, र दोस्रो पुस्ताका नेताहरूलाई नेतृत्व सुम्पने अपेक्षा फैलियो। यदि पुराना नेताले सच्चिएनन् भने नयाँ पुस्ताका नेताहरूले पार्टीभित्रै विद्रोह गरेर पुरानालाई हटाउने र भ्रष्टाचार अन्त्य गरी सुशासन स्थापित गर्ने जनआकांक्षा प्रकट भयो।
तर, प्रदर्शन समाप्त भएको एक साताभित्रै दलहरूले पुनः पुरानै चालढाल देखाए। यसले गाउँघरमा कहिल्यै सुध्रिन नसक्ने पुरानो ‘ज्याद्रो कुकुर’को कथा सम्झाइदियो — जसलाई बाँधेर खोल्सामा छाड्दा सुध्रिन्छ कि भन्ने आशा गरियो, तर भोलिपल्ट झन् उग्र भएर फर्कियो।
दलहरूको मानमर्दन गर्नु यहाँको उद्देश्य होइन। तर, Gen-Z आन्दोलनले दिएको मूल सन्देश स्पष्ट छ — दलहरू सच्चिनुको विकल्प छैन। दलको विकल्प फेरि दल नै हो। त्यसैले दलहरूले नयाँ पुस्तालाई जिम्मेवारी दिनु, उनीहरूलाई उचित सल्लाह र समर्थन गर्दै भ्रष्टाचारको अन्त्य गर्ने वाचा साथ चुनावमा उत्रिनु अपरिहार्य छ।
नत्र, आगामी निर्वाचनपछि यी दलहरूलाई बत्ती बालेर खोज्नुपर्ने स्थिति आउन सक्छ। २०१५ सालको निर्वाचनमा १०९ सिटमध्ये १९ सिट मात्र जितेर प्रमुख प्रतिपक्ष बनेको गोर्खा परिषदजस्तै, आजका दलहरू पनि लोप भई इतिहासको पानामा सीमित हुने जोखिम टार्न सकिँदैन।



