
सुरक्षा सरोकार । नेपाल प्रहरीका चार महत्वपूर्ण कार्यालय हाल निमित्त प्रमुखको कमाण्डमा पुगेका छन्। एक एआईजी प्रहरी महानिरीक्षक (आईजीपी)मा बढुवा हुनु र तीन एआईजी अवकाशमा जाँदा यी कार्यालय अस्थायी नेतृत्वमा रहेका हुन्।
उपत्यका प्रहरी कार्यालय, केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी), प्रहरी राष्ट्रिय तालिम प्रतिष्ठान (एकेडेमी) र प्रशासन विभाग अहिले निमित्त प्रमुखमार्फत सञ्चालन भइरहेका छन्। उपत्यकामा डीआईजी ओम राना, सिआइबीमा गोविन्द थपलिया, एकेडेमीमा दिपेन्द्र जिसी र प्रशासन विभागमा सुशीलसिंह राठौर निमित्त प्रमुख बनेका छन्।

प्रहरी संगठनमा हाल कार्यरत अन्य चार एआईजी दुई महिनापछि रिक्त हुने आईजीपीको दौडमा रहेका कारण उनीहरू सरुवामा खासै चासो दिइरहेका छैनन्। एआईजी दानबहादुर कार्की मानवस्रोत विकास विभाग, राजन अधिकारी अपराध अनुसन्धान विभाग, मनोज केसी प्रदेश समन्वय विभाग तथा शिद्धिबिक्रम शाह कार्य विभागको प्रमुखमा कार्यरत छन्।
यस क्रममा एआईजीका चार पद खाली छन्, जसका लागि नौ डीआईजीबीिच बढुवाको प्रतिस्पर्धा छ। प्रतिस्पर्धीमा दिनेश आचार्य, ईश्वर कार्की, राजेन्द्र भट्ट, गोविन्द थपलिया, अरुण पौडेल, सुशीलसिंह राठौर, उमा प्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ र डम्बर विक रहेका छन्।
सत्तारूढ दलबीचको भागबन्डाका कारण एआईजी बढुवा प्रक्रिया केही समय लाग्ने देखिन्छ। यद्यपि, महत्वपूर्ण विभाग लामो समयसम्म निमित्तमा चल्दा समस्या आउन सक्ने भएकाले सरकारले सिनियर एआईजीलाई रिक्त कार्यालयमा पठाउने तयारी गरेको छ।
सिआइबी र उपत्यका प्रहरी कार्यालय सिनियर एआईजीहरूको रोजाइमा पर्ने संवेदनशील एकाइ मानिन्छन्। विशेषतः सिआइबीमा पछिल्लो समय आर्थिक अपराध अनुसन्धानको नाममा विभिन्न गतिविधि चलिरहेको भन्दै गृह मन्त्रालयले आफ्नो अनुकूल एआईजी पठाउने प्रचलन बढाएको देखिन्छ।



